भदौ ५, २०७९ आइतबार

कोरोना महामारीका कारण पछिल्लो दुई वर्ष देश विदेशका स्टेज कार्यक्रमहरू ठप्प रहे, जसका कारण दर्जनौँ कलाकारहरू फुर्सदमा रहे । तीजमा विशेषगरी लोकदोहोरी क्षेत्रमा कलाकारहरू स्टेज कार्यक्रमको शिलशिलामा देश विदेशको दौडाहामा हुन्थे । कोरोनाकालमा उनीहरू पनि फुर्सदिला देखिए । 

यसवर्ष कोरोना महामारी मत्थर भएसँगै देश विदेशमा तीज विशेष कार्यक्रमहरू भइरहेका छन् । यसवर्ष लोकदोहोरीमा चलेका अधिकांश कलाकारहरू तीज विशेष स्टेज कार्यक्रमको सिलसिलामा विदेशमा छन् । केही कलाकारहरू देशका विभिन्न जिल्लामा पुगेका छन् । 

गायक खुमन अधिकारी र गायिका शान्तीश्री परियार अहिले अष्ट्रेलियाको सिड्नीमा छन् । दुई दिनअघि तीज विशेष कार्यक्रमका लागि सिड्नी पुगेका उनीहरूले शनिवार त्यहाँ प्रस्तुति दिएका थिए । गायक प्रकाश सपूतले पनि अष्ट्रेलियामा आयोजित तीज विशेष कार्यक्रममा प्रस्तुति दिइसकेका छन् । गायिका प्रीति आले, मोडल करिश्मा ढकाललगायतले पनि अष्ट्रेलियामा आयोजित तीज मेलामा पुगेर प्रस्तुति दिएका छन् । 

गायिका देवी घर्ती पनि यतिबेला नेपालमा छैनन् । उनी पनि तीज विशेष कार्यक्रमका लागि शनिवारमात्रै अष्ट्रेलिया उडेकी छन् । गायक पशुपति शर्मा, बद्री पंगेनी, गायिका शर्मीला गुरुङ, सम्झना भण्डारी तीजको समयमा विदेशमा हुनेछन् । उनीहरूले यसवर्षको तीजमा जापानको विभिन्न ठाउँमा दर्शकहरूलाई नचाउनेछन् । 

गायक खेम सेञ्जुरी, गायिका सुनिता दुलाल, मोडल अञ्जली अधिकारीलगायतका थुप्रै लोकदोहोरी कलाकारहरू पनि यतिबेला विदेशमै छन् । नेपालमा रहेका कलाकारहरू पनि जिल्ला जिल्लामा आयोजिक तीज विशेष कार्यक्रममा पुगेका छन् । तीज लगत्तै दशैं तिहार शुरु हुने भएकाले कलाकारहरूको कार्यक्रमको सेड्यूल कात्तिकसम्मै व्यस्त हुने देखिन्छ ।