अभिनेता अनमोल केसीको अभिनय रहने चलचित्र ‘छड्के २’को छायांकन शुरू गरिएको छ । चितवनको भरतपुरमा शुभ मुहूर्त गर्दै शुरू गरिएको छायाँकनको सेड्यूल ६० दिन तय गरिएको छ ।
केही दिन चितवनमा छायांकन गरेर चलचित्र यूनिट मुस्ताङ पुग्नेछ । चितवन र मुस्ताङमा चलचित्रको छायांकन हुनेछ । अनमोलको अलावा रोविन तामाङ र कमलमणि नेपालको पनि मुख्य भूमिका रहने चलचित्र निगम श्रेष्ठको लेखन एवं निर्देशनमा बन्न लागेको हो । चलचित्रको अभिनेत्रीको नाम भने निर्माण टिमले अहिलेसम्म गोप्य राखेको छ ।
अनमोल यस चलचित्रमा ग्याङ्गस्टारको भूमिकामा देखिँदैछन् । काभ्रे फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रसँग मेधा फिल्मस् र निर्वाण फिल्म स्कुलले सहकार्य गरेका छन् । प्रशान्त गिरी र लक्ष्मण काफ्ले यस चलचित्रका निर्माता हुनु । ‘छड्के’ ६ वर्ष अगाडि प्रदर्शनमा आएको ‘फ्लप चलचित्र’ हो । दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, नम्रता श्रेष्ठलगायतको अभिनय रहेको उक्त चलचित्रले समीक्षा भने राम्रो पाएको थियो ।