भदौ ८, २०७९ बुधबार

काठमाडौंः नर्वेमा छायांकन हुने भनिएको फिल्म 'तिम्राे नजर'को भिसा आवेदनमा नक्कली कागजपत्र पेश भएको खुलेको छ। यो फिल्मसँगै नाम जोडिएकी अभिनेत्री केकी अधिकारीले भने यसमा आफ्नो कुनै संलग्नता नरहेको र आफ्नो नामको गलत प्रयोग गरिएको बताएकी छन्। 

बुधबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत केकीले ब्लु बर्ड एचडी नामक निर्माण कम्पनीले निर्माण गर्ने भनिएको 'तिम्राे नजर'मा आफूले हस्ताक्षर समेत नगरेको स्पष्टीकरण दिएकी छन्। उनले लेखेकी छन्- मैले त्यस्तो नाम गरेको कुनै चलचित्र निर्माण कम्पनीसँग कुनै पनि चलचित्रमा सम्झौता गरेकी छैन र यस किसिमको अवाञ्छित गतिविधिबारे कुनै पूर्व जानकारी पनि थिएन। 

साथै आफ्नो नाम प्रयोग गरेर कुनै गैरकानुनी काम भएको भए कडा कारबाही गर्न सबै सम्बन्धित निकायलाई अनुरोध गरेकी छन्। 

नर्वेमा नेपाली फिल्म छायांकनका लागि अभिनेता आर्यन सिग्देल र अभिनेत्री केकी अधिकारीले दिएको भिसा आवेदनमा नक्कली कागजपत्र पेश भएको भेटिएको थियो। ‘तिम्राे नजर' फिल्मको छायांकन नर्वेमा गर्नका लागि भारतमा रहेको नर्वेजियन दूतावासमा पेश गरिएको कागजपत्रमा नेपाल पर्यटन बोर्डको लेटरप्याड र कार्यकारी प्रमुखको हस्ताक्षर नक्कली प्रयोग भएको खुलेको थियो