काठमाडौं: 'देखेर तिमीलाई-तीनपाते', 'बाफ', 'के माया लाग्छ र' जस्ता चर्चित गीत रिलिज गरिसकेको आर्टमाण्डू नेपाल प्रा।लि।को प्रस्तुति रहेको 'बाँचुन्जेल हाँसखेल मरेसी तास खेल' नामक प्रयोगात्मक गीति भिडियो सार्वजनिक भएको छ। 'म्युजिकल प्ले' नाम दिइएको उक्त गीत बिहिबार आर्टमाण्डुको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।
नबिन चौहानको शब्द अनि सुशान्त गौतमको संगीत रहेको उक्त गीतमा नेपाल आईडल सिजन ३ कि बिजेता सज्जा चौलागाईं र भानुभक्त ढकालको आवाज रहेको छ। अनिल सुब्बाको निर्देशनमा बनेको भिडियोमा रुपेश लामा सीता राई सुरज तमू संगीता थापा नूशा लिङ्देन प्रतिना राई लगायतका कलाकारको अभिनय रहेको छ।
आर्ट्माण्डु नेपालकै प्रस्तुतिमा गत जेठ २० गते देखि असारको २६ गते सम्म मण्डला थिएटरमा नाटक 'चोरको स्वर' मञ्चन भएको थियो। सोही नाटकको एक पात्र लप्टेनको कथामा गीतको भिडियो तयार भएको हो। उक्त नाटकललाई दर्शकले निकै मन पराएको थिए भने व्यवसायिक रुपमा पनि सफल भएको थियो।
नाटककै कलाकारलाई समेटेर बनाइएको भिडियोलाई सौरभ लामिछानेले छायांकन एवं रंग संयोजन गरेका हुन् भने सम्पादक कृष्ण भण्डारी हुन्।