भदौ ११, २०७९ शनिबार

'बा'हरूमा समर्पित कविता : तिम्रो स्मृतिमा

राधा कार्की


तिमी थियौ
र म पनि थिएँ !
तिमी हरायौ
र म पनि हराएँ !
खर्लप्पै बगायो
कालो बादल झरेर 
म अघिल्तिरको अमर पहाड !


न छेक्न सकेँ त्यो बज्रलाई
न रोक्न सकेँ तिम्रो जीवनलाई 
हेर्दा हेर्दै,
खण्डहर बन्यो
मेरो भरोसाको एक्लो आकाश !
 
वर्षौंअघिको कुरा हो 
सखारै मच्चियो कोलाहल–
‘यो टुहुरी भई, 
अब यसले दु.ख पाउने भई !’


तिमीले स्पर्श गर्दै भनेका थियौ–
“तेरो बाबा, आमा सबै म नै हुँ”
त्यही आवाजको धुन सुनेर
मैले पीडाले डसेको मन बुझाएकी थिएँ !


तिम्रा हरेक शब्दहरू
मार्ग निर्देशन हुन्थे मेरा लागि
म बिमारी हुँदा तिमी अचाक्ली दुख्थ्यौ
तिम्रो काँधमा टेकेरै
चढेकी हुँ मैले जीवनको कठिन उकालो 
पसिनाका नाला पुछ्दै
मलाई दिएका हौ तिमीले 
बेहिसाब खुसीहरू !

उठेका यी पाइलाहरू
अब म कुन कुन कुइनेटाहरूमा बिसाऊँ
सँघारमा पुग्दा 
आफैँ स्तब्ध बन्छन् गोडाहरू

अब भेटिने छैनन्
जीवन डोर्‍याउने हातहरू
टोलाउने छैनन् प्रतीक्षामा
एक जोर नयनहरू 
छट्पटाइरहेछ एउटा विरही सम्झना 
मनको गोलार्धमा एक्लै एक्लै 

उसैगरी जून खस्यो
उसैगरी घाम खस्यो
र अँध्यारोमा छोपियो जिन्दगीको गाडी !
भन न बाबा !
अब कति दिन बाँकी छ 
औँसीपछि पूर्णिमा आउन ?