भदौ ११, २०७९ शनिबार

बा फ्रेमभित्र बसेपछि

 तिम्रो काँधको कञ्चनजङ्घा चढेपछि नै
 जागेको हो ममा उचाइको मोह
 तिम्रो औँलाको अङ्कुसे साथ छुटेपछि नै
 बुझेको हुँ छुटाइको अर्थ
 तिम्रो छातीमा सिउरी खेल्दै
 घाँटीमा पिङ खेल्न पाएपछि मात्रै
 बल्ल दशैँ आउनेगर्थ्यो  मेरो
 तिम्रो दौराको खल्तीबाट 
पिपलगेडी निस्केपछि बल्ल
 चाडपर्व सुरू हुन्थ्यो मेरो ।

बा!
आमा सधैं झूटो  बोल्छिन् मसँग 
बा खै आमा? भन्दा तारा देखाउँदै भन्छिन्
 उ तेरा बा!

बा!
तिमी साँच्चै तारा बनेका हौ भने
 किन चम्कन्नौ मेरो चकमन्न रातमा?

बा! तिमी साँच्चिकै आकाशमा छौ भने
भिज्दा निथ्रुक्क वियोगको झरीले
 किन उडाउन्नौ छाता सान्त्वनाको?

 बा!
 तिमी जहिलेदेखि दैलोमाथि
 सिसाको फ्रेममा बस्न थाल्यौ
 हो त्यतिखेरबाटै विद्रोही भएको हूँ म
 तिमीलाई के थाहा
 तिमी बोलेनौ भन्ने रिसले
 कति चोटि फुटाएँ फोटाको फ्रेम 
 मन नपरेर आमाको सेतो सारी
कतिचोटी रङ्गाइदिएँ 
 मेरो औँलाको रातो रगत छिर्केर
 मलाई सबैभन्दा मन पर्ने गीत गाउने
 आमाका चुरा बज्न  छाडेपछि 
 चुरा किन्दिन्छु आमालाई भन्दै
 कति चोटि फुटाइदिएँ खुत्रुके।

 बा!
 तिमीले ओइलाएको फूलको
 माला लाउन थालेपछि हो
मेरी आमा दिनदिनै सुकसुकाउन थालेकी
 तिमीलाई काकाहरुले नब्युँझाइ लगेपछि हो
मेरी आमाले
 चुरा र सिन्दूरको बट्टा फुटाएकी।

 तिमी सधैँ म गएँ है बाबू भनेर घरबाट निस्कँदा परसम्म पछ्याउँदै कुद्थेँ म
 बुझ्न सकिरहेको छैन अहिलेसम्म
 कहिल्यै नरिसाउने मेरा बा
 किन रिसाए होलान् त्यति औधी
र  गए 
जान्छु सम्म पनि नभनी!

✍️ राधिका कल्पित