अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म '२.० छड्के' निर्माण टिमले अनमोलको फर्स्ट लुक पोस्टर सार्वजनिक गरेको छ । फिल्मको छायांकन अहिले चितवनमा भइरहेको छ ।
सार्वजनिक पोस्टरमा अनमोलको ग्याङस्टार लुक देख्न सकिन्छ। रगत लतपत्तिएको तरबार समातेका अनमोलको मुखमा चुरोट छ। उनको शरीरभरि ट्याटु खोपिएको छ। छातीमा १९९४ डेट खोपिएको छ। अनमोल पोस्टरमा आक्रमक रूपमा प्रस्तुत भएका छन्।
निगम श्रेष्ठको लेखन तथा निर्देशनमा रहेको फिल्ममा अनमोलका साथै रोविन तामाङ, कमलमणि नेपाल मुख्य भूमिकामा छन्। अन्य कलाकार भने निर्माण पक्षले सार्वजनिक गरेको छैन।
काभ्रे फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन्। निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका छन्।
६० दिनको छायांकन तालिका रहेको फिल्म चितवनसँगै मुस्ताङमा पनि खिचिनेछ। छायांकनको क्रममा फिल्मबारे विस्तारै जानकारी गराउने निर्देशक श्रेष्ठले बताए।