भदौ १२, २०७९ आइतबार

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले पत्रकार सम्मेलनको आयोजना गरेपछि विद्यार्थीबीच झडपको अवस्था सिर्जना भएको छ । त्यहाँ अहिले बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सो क्रममा एक समूहले पत्रकार सम्मेलनस्थलमा ढुंगा प्रहार समेत गरेको थियो। सोही क्रममा नेविसंघका भुवन जोशी र ईश्वर भण्डारी घाइते भएको त्रिवि नेविसंघ एकाइ सचिव योगेन्द्र रावलले जानकारी दिए।

नेपाल विद्यार्थी संघ प्रश्नपत्र हुबहु सोध्ने प्राध्यापकलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएको छ भने एमाले निकट अनेरास्ववियूले तालाबन्दी खोल्ने चेतावनी दिएको छ ।

त्रिभुवन विश्वविद्यालयले लगातार विश्वविद्यालयमा आन्दोलन भएका कारण शिक्षक कर्मचारीमा त्रासको अवस्था सिर्जना भएको बताएको छ । त्रिवि उपकुलपति प्रा.डा.धर्मकान्त बाँस्कोटाले शिक्षक कर्मचारीमा त्रास भएको र काम गर्ने वातावरण नरहेको बताए ।

उनले भने, ‘विश्वविद्यालयका विभिन्न निकायहरूमा विभिन्न समूहबाट चन्दा, आर्थिक सहयोगको नाममा रकम मागेर हैरान बनाएको गुनासो प्राप्त भइरहेको छ । विभिन्न निकायमा शिक्षक, कर्मचारी कुटिएका छन् यस्तो अवस्थामा विश्वविद्यालयमा बसेर काम गर्ने वातावरण छैन । शिक्षक कर्मचारीमा एक किसिमको त्रास छ । काम गर्ने वातावरण नभएपछि स्वतः विश्वविद्यालयले सम्पादन गर्नुपर्ने कार्यहरू समयमा नसकी विद्यार्थीमा नकारात्मक प्रभाव परेको छ । जसले विद्यार्थीहरू विदेशिने क्रम बढिरहेको छ ।'