काठमाडौँ । माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी खोलेपछि उक्त पार्टीमा लागेका सुदूरपश्चिम प्रदेशका सांसद तारा लामा तामाङले आफू नेकपा एमालेमै फर्किने घोषणा गरेका छन्।
सोमबार प्रदेश सभाको बैठकमा विशेष समय माग गर्दै उनले नेकपा एकीकृत समाजवादी छोडेर एमालेमै फर्किने घोषणा गरेका हुन्।
समाजवादी पार्टीबाट उनी आर्थिक मामिला तथा योजना मन्त्री पनि बनेका थिए। प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएपछि उनलाई मन्त्रीबाट हटाइएको थियो।
मन्त्रीबाट हटाएपछि उनी असन्तुष्ट थिए।
तामाङले सत्ता गठबन्धनले जनताको भावनाअनुसार काम गर्न नसकेको भन्दै पुन: एमालेमा जान निर्णय गरेको बताएका छन्।
उनले आगामी दिनमा संसद्मा पनि जुन पार्टीको जुन चिह्नबाट निर्वाचित भएको त्यही हिसाबले प्रस्तुत हुने जानकारी दिए।
‘यो गठबन्धनले जनताको पक्षमा काम गर्न सकेन, मलाई प्रदेश सभाको अहिलेको रेकर्डमा जे भए पनि म अबदेखि सुरुमा निर्वाचित पार्टीको चिह्नकै हिसाबले प्रस्तुत हुनेछु,’ उनले ससंद्मा भने।
केही दिनअघि समाजवादीको सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष बिक्रमबहादुर शाहीले पनि पार्टी परित्यागको घोषणा गरेका थिए।
उनी पनि एमालेमा फर्कीएका छन्। उनीहरूलाई पुन: एमालेमा प्रवेश गराउन अध्यक्ष केपी शर्मा ओली भदौ १५ गते कञ्चनपुरमा आउने कार्यक्रम रहेको बताइएको छ।