काठमाडौं: चन्द्र विनायक मन्दिर प्राङ्गण चाबहिलमा आज (बिहीबार) गीतकार कालीप्रसाद रिजालको चर्चित गीत ‘आँखा छोपी नरोऊ भनी भन्नु पर्या छ’ लाई नेपाल भाषा र संस्कृत भाषामा अनुवाद तथा रि-रेकर्डिङ गरिएको छ। स्वर सम्राट नारायण गोपालको सङ्गीत र गायन रहेको उक्त गीत अझै पनि लोकप्रिय रहेको छ।
गीत रेकर्डिङ र सार्वजनिक कार्यक्रममा उपस्थितहरूलाई मन्दिरका पुजारीले टीका, माला र प्रसादले स्वागत गरेका थिए। दुई भाषामा अनुवाद गरिएको गीतको ट्र्याक कार्यक्रमका प्रमुख अतिथि बाग्मती प्रदेश सांसद नरोत्तम वैद्यले सार्वजनिक गरेका थिए। गायक मातृका आचार्यले संस्कृत भाषामा तथा स्वप्निल श्रेष्ठले नेपाल भाषामा उक्त गीत गाएका थिए।
संस्कृत र नेपाल भाषामा गीतको अनुवाद साहित्यकार जनक वाग्लेले गरेका हुन्। अनुवादक वाग्लेको परिचय साहित्यकार ठाकुर शर्मा भण्डारीले दिएका थिए।
कवि प्रद्युम्न जोशीले स्वागत गरेको कार्यक्रममा वडा अध्यक्ष विमल होडा, गीतका संगीतकार मनोहर सुनाम, साहित्यकार रामप्रसाद पन्त, गीतकार अस्मिता सुमार्गी, सम्पादक विनय शर्मा लगायतको उपस्थिति रहेको थियो।
मन्दिरमा आउने भक्तजन, सञ्चारकर्मी र साहित्यकारहरूको बाक्लो उपस्थिति कार्यक्रममा रहेको थियो। गणेश चौथीका अवसरमा आयोजित उक्त कार्यक्रमअन्तर्गतका भजन कीर्तन भने आज राति अबेरसम्म भइरहने जानकारी दिइएको छ।