काठमाडौँ: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक क्षेत्रको विकासका लागि विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लाग्नुपर्ने बताएका छन्।
शुक्रबार ६९ औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
मन्त्री पौडेलले विश्व विद्यालयका समस्या समाधान गरेर तालामुक्त विश्वविद्यालय बनाइ शैक्षिक पठनपाठनको व्यवस्था गर्नुपर्ने बताए।
उनले शिक्षाको सुधारका लागि विश्वविद्यालय र शैक्षिक संस्थाहरू राम्रो हुनुपर्नेमा जोड दिए।
मन्त्री पौडेलले भने, ‘हामीले नेपालमा उच्च शिक्षालाई योभन्दा माथि पुर्याउन के गर्नुपर्छ भन्ने विषयमा केन्द्रित रहेर छलफल गरेका छौँ। विदेशमा विद्यार्थी जाने लहर चलेको छ। सरकार शिक्षा मन्त्रालय गम्भीर छ। रोजगार र पठनपाठनका लागि हामीले अहिले रोक्न नसकौँला आजको परिस्थितिमा। हामीसँग भएको शिक्षा हामीले नै विश्वास गर्न नसक्नु हाम्रो कतै न कतै त्रुटि हो। अरू देशका विद्यार्थीलाई पनि आकर्षित गर्नुपर्छ। शिक्षाबिना केही राम्रो हुँदैन। शिक्षाको सुधारका लागि विश्वविद्यालय राम्रो हुन आवश्यक छ। विश्वविद्यालयमा ताला नलगाऔँ, मुक्त बनाऔँ र पठनपाठनको व्यवस्था सिर्जना गरौँ। समस्या छन् तर त्यसलाई समाधान गरौँ। विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लाग्नुपर्छ।’
मन्त्री पौडेलले शैक्षिक संस्थाहरूको पूर्वाधार विकासमा जोड दिन सरकार लागिरहेको पनि बताए।