भदौ १८, २०७९ शनिबार

काठमाडौँ । आज गौरा पर्वको मुख्य दिन अठ्यावली अर्थात् दुर्वाष्टमी सुदूरपश्चिममा धुमधामकासँग  मनाइँदै छ । आजका दिन गौराको पूजाआजा गर्ने गरिन्छ ।

हिजो अमुक्ताभरण सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाहरूले चढाएको दुबधागो आज ग्रहण गर्ने चलन रहेको संस्कृतिका जानकार एवं पण्डित खेमराज भट्टले  बताए ।

हिजो गौरा घरमा लगिएको गौरालाई खेल खेल्दै आज पूजा गरी बिरुडा शीरमा चढाउने प्रचलनसमेत रहेको उनले बताए । महिलाहरू व्रत बसेर गौरा खलामा शिव र पार्वतीको पूजापाठ गर्ने चलन रहेको छ । गौरा पर्वको पहिलो दिन बिरुडा पञ्चमीमा घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरिन्छ ।

भाद्र शुक्ल वा कृष्ण पञ्चमीका दिनबाट शुरु हुने यो पर्व यस वर्ष भाद्र शुक्ल पक्षमा परेको छ । गौरा पर्वको शुरुवात बिरुडा पञ्चमीबाट हुन्छ । दुर्वाष्टमी अर्थात् अठ्यावाली यो पर्वको मुख्य दिन हो । गौरा पर्वको पहिलो दिन महिलाहरूले तामा वा पित्तलका भाँडामा पाँच प्रकारका अन्न बिरुडा भिजाउने  गर्दछन्  । ब्रतालु महिलाहरूले शिव पार्वतीको गाथामा आधारित फागहरू गाएर सामुहिक रूपमा बिरुडा भिजाउने चलन रहीआएको छ ।

यस पर्वमा खास गरेर विवाहित महिलाहरुले ब्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् । बिरुडापञ्चमीकै दिनदेखि ब्रतालु महिलाहरूले गौराको पूजाआजा गर्ने गर्दछन् । यहाँका महिलाले गहुँ, केराउ, गहत, मास र गुराउँस मिसाएर तामा वा पित्तलका भाडामा बिरुडा भिजाइन्छ । । पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा वा तलाउमा लगेर धुने चलन छ ।

सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ । गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन गौराखलामा लगेर पूजा गर्ने चलन रहीआएको छ । शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अनारी गौरा भन्ने चलन रहीआएको छ ।पञ्चमीका दिन सुरु हुने गौरा पर्व विसर्जन भने हरेक ठाउँको आ-आफ्नै चलनअनुसार गर्ने गरिन्छ ।