भदौ १८, २०७९ शनिबार

काठमाडौँ । सन् २०२२ को सुरुआती समयदेखि पर्यटक आगमन बढेको आँकडाले देखाएको छ ।

अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको ८ महिनामा कूल तीन लाख २६ हजार छ सय ६७ पर्यटक नेपाल भित्रिएका छन् ।

यो हवाई मार्ग भएर भित्रिएका पर्यटकको विवरण हो । बोर्डका अनुसार गत अगष्टमा ४१ हजार तीन सय चार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । कोभिड पूर्व सन् २०१९ को अगष्टमा ७३ हजार आठ सय १४ पर्यटक नेपाल भित्रिएका छन् । तुलनात्मक रूपमा अगष्टमा कम पर्यटक आउछन् । वर्षायाम भएकाले पर्यटकको सङ्ख्यामा कमि आएको बोर्डले जनाएको छ । सेप्टेम्बर महिना पर्यटनमा उपयुक्त सिजन मानिन्छ । यो सिजनमा उल्लेख्य सङ्ख्यामा पर्यटक भित्रिने गरेका छन् ।

अगष्टमा १६ हजार एकसय ४७ भारतीय नेपाल आएका छन् । एसिया र अन्य मुलुकबाट १८ हजार पाँच सय चार, युरोपबाट तीन हजार दुई सय २७ पर्यटक नेपाल आएका छन् । यस्तै अमेरिकाबाट चार हजार ६६ पर्यटक नेपाल आएका छन् ।

कुन महिनामा कति पर्यटक भित्रिए

बोर्डको विवरणमा जनवरीमा १६ हजार नौ सय ७५, फेब्रुअरीमा १९ हजार सात सय ६६, मार्चमा ४१ हजार छ, अप्रिलमा ६१ हजार पाँच सय ८९, मेमा ५३ हजार ६०८, जुनमा ४६ हजार नौ सय ६७, जुलाईमा ४४ हजार चार सय ६२, अगष्टमा ४३ हजार दुई सय ४९ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।