काठमाडौं: गायक योगेश्वर अमात्यले हिरासतमा रहेका कमेडियन अपूर्व क्षितिज सिंहलाई रिहा गर्न आग्रह गरेका छन्।
उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेवा समुदायका संघ संगठनहरूले चाहिने मुद्दामा ध्यान दिन आग्रह पनि गरेका छन्।
उनले नेवा समुदाय स-साना कुरामा अल्झेर बसेको भन्दै अपुर्वलाई तुरुन्त छोड्न लगाउनुपर्ने बताए।
'हाम्रो नेवाः संग संगठन पनि गज्जबको लाग्छ। चाहिने मुद्दामा ध्यान छैन। सानो तिनोमा अल्झेर के के नै गया जस्तो, अपूर्वलाई तुरुन्त छोड्न लगाऊ', उनले लेखेका छन्।
सिहंले युट्युब च्यानल कमेडी क्याफेमा ‘नेवारको परम्परा’ शीर्षकमा भिडियो हालेका थिए। उक्त भिडियोमा नेवा समुदायको भाषा, संस्कृतिमाथि व्यंग्य गरेको आरोप लगाउँदै नेवा समुदायका अभिन्ताहरुले उजुरी दिएका थिए।
सोही उजुरीका आधारमा काठमाडौं प्रहरी परिसरले उनलाई भदौ १२ गते पक्राउ गरेको हो। उनलाई काठमाडौं जिल्ला अदालतबाट १० दिनको म्याद लिएर प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखिरहेको छ।