गिरिराज जोशीको कविता
स्रष्टालाई जब नजिकिँदै जिन्दगीले चिमोट्छ ।
फुल्दाफुल्दै सुमन कलिला क्रूर आँधी निमोठ्छ ।।
त्यो वेलाको सृजन बलवान् लाग्छ जीवन्त साँचो ।
फुर्छन् आफैँ सबल कविता घोत्लिने हुन्न खाँचो ॥
झुल्को पर्दा प्रथम रविको स्नेहिलो स्पर्श पाई ।
हाँस्दै खुल्दा हिमगिरि अहा लाज केही मिसाई ।।
झल्को मीठो प्रिय नजरमा पर्छ घुम्टी छिचोली ।
आफैँ फुट्ने कविहृदयको सृष्टिको रम्य बोली ॥
गिरिराज जोशी