भदौ २१, २०७९ मंगलबार

मकवानपुरको मनहरी गाउँपालिका–१ का वडाध्यक्ष शिवप्रसाद खनाल बाल जीवनज्योति माविको कक्षा ११ मा पढ्दै।

काठमाडौँ । बाराको कलैयास्थित सिद्धेश्वर संस्कृत विद्यालयबाट २०४८ सालमा एसएलसी उत्तीर्ण गरेपछि मकवानपुरको मनहरी गाउँपालिका–१ का वडाध्यक्ष ५१ वर्षीय शिवप्रसाद खनालको औपचारिक शिक्षा रोकियो । विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेका खनालले पहिलो पटक सञ्चालित कक्षा ११ को शिक्षा संकाय अध्ययन गर्न थालेका हुन् ।  


शैक्षिक योग्यता नहुँदा विभिन्न अवसरबाट वञ्चित हुनुपरेको खनालको भनाइ छ। क्षमता अभिवृद्धि गर्न र अधुरा सपनालाई अघि बढाउन कक्षा ११ मा भर्ना भएको उनले बताए। पढाइ छाडेको ३१ वर्षपछि गाउँकै बाल जीवनज्योति माविमा उनी भर्ना  भएका छन्।

उनी बिहानै वडा कार्यालय पुग्छन्। ‘कक्षा सकिनासाथ वडा कार्यालयमै बस्छु। आपत्कालीन अवस्थामा वडा कार्यालयनजिकै छ। मेरो अध्ययनले वडावासीलाई प्रवाह हुने सेवामा कुनै पनि कमी हुन दिएको छैन’, उनले भने, ‘बरु अझै पढेर गाउँमा शिक्षाको ज्योति छर्नेछु।’