लोकगायक विष्णु खत्रीको नयाँ गीत ‘उडी जाने जहाज’ सार्वजनिक भएको छ ।
उनको आफ्नै यूट्युब च्यानलबाट मंगलवार गीत सार्वजनिक गरिएको हो ।
परदेशिएका नेपाली र तिनका आश्रित परिवारको कथामा आधारित गीतमा बालगायक सुप्रिम मल्ल ठकुरी र खत्री स्वयंले स्वर दिएका छन् ।
रचना र संगीत पनि गायक खत्रीकै छ । गीतको म्युजिक भिडियोमा कलाकार स्मारिका ढकाल, सरिन केसीसँगै गायक खत्रीको समेत अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन पनि उनी आफैंले गरेका हुन् । प्रस्तुत गीतले सामाजिक यथार्थ चित्रण गरेको गायक खत्रीले बताए ।
प्रदेशमा रहेका बुवा दशैंमा घर आउने आशमा रहेका छोराको मनोभाव गीतमा मुखारित छ । मार्मिक सिर्जना र ग्रामीण परिवेश झल्काउने प्रस्तुतिका कारण गीत राम्रो बनेको स्रोता–दर्शकले प्रतिक्रिया दिएका छन् ।
यूट्युबमा सार्वजनिक भएको केही घण्टामै गीतले ५ हजार बढी ‘भ्युज’ बटुलिसकेको छ । लोकगायक खत्रीका यसअघि ‘सुनको जलप’, ‘रिनै रिनको’, ‘दशैंतिहारसँगै मनाउँला’, ‘दशैंमा आउ प्यारा’ लगायत दशैं गीत सार्वजनिक भइसकेका छन् । २ दशकदेखि संगीतमा सक्रिय उनले दशैंतिहार, तीजजस्ता पर्वका मौकामा मौलिक गीत सार्वजनिक गर्दै आएका छन् ।
जनजीवनका भोगाइलाई जीवन्त ढंगले प्रस्तुत गर्न पोख्त सर्जक–गायक खत्रीका ‘भरिया दाइ’, ‘कि लास चाहियो, कि सास चाहियो’ लगायत गीत चर्चित छन् ।