भदौ २२, २०७९ बुधबार

काठमाडौँ । बर्षेनि दुई याममा नाउर र झारलको वैधानिक सिकार हुँदै आएको ढोरपाटन सिकार आरक्षमा नेपाली सिकारीलाई लक्षित गरी अबदेखि बँदेलको पनि सिकार गर्न पाइने भएको छ ।  बँदेल सिकार खुला गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी थालेको हो । 


आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार एउटा याममा ११ बँदेलको सिकार गराइनेछ । 


नाउर र झारलको महँगो सिकार नेपाली सिकारीको पहुँचमा छैन । त्यसका लागि विदेशी पेसेवर सिकारी भने लाखौँ खर्चिन तयार हुन्छन् । आरक्षमा अहिलेसम्म कोही पनि नेपाली वैधानिक सिकारका लागि पुगेका छैनन् । बँदेलको व्यवस्थित सिकारले स्थानीय बासिन्दा र आरक्षबीच सम्बन्ध बलियो हुने प्रमुख संरक्षण अधिकृत कँडेलले बताए ।


विसं २०३९ मा स्थापना भएको आरक्ष देशकै एकमात्र वैधानिक सिकार गन्तव्य हो । एक हजार तीन सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुमको उच्च पहाडी र हिमाली भू–भागमा अवस्थित छ । रोमाञ्चक र साहसिक सिकार पर्यटनका लागि ढोरपाटन विश्वमै प्रख्यात छ ।