पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमालले आफ्नो अफिसियल यूट्युब च्यानलमार्फत नयाँ गीत सार्वजनिक गरेकी छन् ।
सु–प्रसिद्ध गायक राजेश पायल राईसँगको स्वरमा रचनाले ‘सेवारो हिङ्मन सुहाउने भो’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।
बुधवार बिहान सार्वजनिक नेपाली र लिम्बु भाषाको समिश्रणमा तयार गीत हो । दिलदुःखी जन्तरेको रचना रहेको गीतमा मनोज साङ्सोन राईको संगीत तथा संगीत संयोजन छ ।
रचना र राजेशपायलले गीतमा स्वर मात्र दिएका छैनन्, अभिनय पनि उनीहरूकै छ । अनित विष्टको निर्देशनमा तयार भिडियोमा उनीहरूलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ । ललितपुरको श्रीकाली चौरमा मिराज अर्यालले भिडियोको छायांकन गरेका हुन् भने सम्पादन पनि उनकै हो ।
छोटो समयमै सांगीतिक क्षेत्रमा एक अलग्गै स्थान बनाएकी रचनाको स्वर १ हजार बढी गीतमा गुन्जिइसकेको छ । उनले समय–समयमा आफ्नै प्रस्तुतिमा पनि गीत ल्याउने गरेकी हुन् । आफ्नो प्रस्तुतिमा ल्याउने गीतहरूमा स्रोता दर्शकलाई केही फरक स्वाद दिऔं भन्ने उनको चाहना हुने गरेको छ ।
रचनाले केही हप्ताअघि मात्रै संगीतकै कमाइबाट घर निर्माण कार्य पूरा गरेको जानकारी दिएकी थिइन् । आमाबुवालाई आफैंले निर्माण घरमा राख्ने सानैदेखिको सपना पूरा भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत स्रोता, शुभचिन्तक एवं फ्यानमाझ खुशी साटेकी थिइन् ।