यस वर्षको तिहारपश्चात कात्तिक १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मीलन’को टिजर सार्वजनिक गरिएको छ ।
टेक पौरखी राई निर्देशित चलचित्रको टिजरमा प्रेम र बिछोडलाई देखाइएको छ । ‘टाकुरा फिल्मस्’ युट्युवमा सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकार अभिनेताद्वय कुशल शाह ठकुरी, सलोन बस्नेत र अभिनेत्री शिल्पा थापाबीचको प्रेम देखिन्छ । त्रिकोणात्मक प्रेम कथामा निर्माण भएको यस चलचित्रको उक्त टिजरमा कालिन्चोकको लोभलाग्दो दृश्य पनि देख्न सकिन्छ ।
चलचित्रको निर्माण टिमले यसअघि पोष्टर पनि सार्वजनिक गरिसकेको छ । योसँगै चलचित्रको प्रचारको कामलाई तीब्र पारिएको छ । अभिनेता कुशल र अभिनेत्री शिल्पाले यसै चलचित्रबाट डेब्यु गर्दैछन् । चलचित्रको कथा पनि निर्देशक राईले नै लेखेका हुन् ।
चलचित्रमा कुशल, सलोन र शिल्पासँगै शिशिर बाङ्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने प्रताप दास, कौशल राज खड्का, कृष्ण केसी, प्रविशा अधिकारी, अस्मिता अधिकारी र बबिना किँरातीको स्वर रहेको छ ।
यस्तै संगीतकारको रुपमा राजु सेन्चुरी रहेका छन् । चलचित्रमा द्वन्द्व निर्देशन कुमार महर्जनको रहेको छ । चलचित्रमा ब्याकग्राउण्डस्कोर शैलेश श्रेष्ठको रहेको छ भने एरेन्जरको जिम्मा पुरुषोत्तम सुवेदी र कृष्ण केसीलाई रहेको छ ।
चलचित्रको पोष्टर डिजाइन टौवा क्रिएसनले गरेको छ भने मेकअप आर्टिष्टमा डिके हमाल र गीताञ्जली योगी छन् । काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको यो चलचित्रको निर्माता प्रविन थापा हुन् । राहुल राईको छायांकन रहेको चलचित्रमा तारा थापा ‘किम्भे’को सम्पादन छ ।