भदौ २५, २०७९ शनिबार

दार्चुलामा बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारलाई जनही एक लाख रुपैयाँ दिइने भएको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावलले आज प्रदेश सरकारका तर्फबाट मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ दिने घोषणा गरेका छन् । 
शनिबार बाढीपहिरो प्रभावितका लागि राहत र उद्धार सामग्री लिएर मन्त्री रावलसहित उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र सुदूरपश्चिमका वनमन्त्री मानबहादुर धामीसहितको टोली दार्चुला पुगेको छ । राहत बितरणका लागि दार्चुला पुगेका उनले तत्काल प्रदेश सरकारको तर्फबाट मृतकका परिवारलाई एक लाख रुपैँया दिइने घोषणा गरेका हुन् ।
उनले बाढीपहिरोमा परी घाइते भएकाहरूलाई उपचारका लागि पनि जनही ५० हजार रुपैयाँ सहयोग उपब्लध गराउने बताएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार अहिलेसम्म ५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ८ जना घाइते भएका छन्। अझै १० जना बेपत्ता छन्। बाढीपहिरोले महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका ४२ घरमा पूर्ण र ९ मा आंशिक क्षति पुगेको छ। प्रहरीका अनुसार ४० घर जोखिममा छन्।