विराटनगर । गन्गाई जातिको लोक संस्कृतिमा आधारित अंगिका भाषाको पहिलो 'कर्तव्य र संघर्ष' नामक चलचित्रको शुभ मुहुर्तमा उद्घाटन गरिएको छ।
गणपति म्युजिक प्रा.लि. को प्रस्तुति र जीवन विकास समाजको सहकार्यमा गन्गाई जातिको भेषभुषा, संस्कृति र संस्कारमा आधारित भएर गन्गाई जातिको अंगिका भाषामा यो पहिलो चलचित्र बनाउन लागेको गणपति म्युजिक प्रालिका सदस्यहरूले बताए।
आदिवासी जनजातिमा सूचीकृत गन्गाई जातिको आफ्नै वेषभूषा ,भाषा, संस्कृति र संस्कार भएकोले त्यसलाई संरक्षण र सम्बर्द्धन गर्न गन्गाई जातिले आफ्नै अंगिका भाषामा पहिलो चलचित्र कर्तव्य र संघर्ष बनाउन लागेको हो। गन्गाई जातिको कर्तव्य र गर्ने संघर्षमा आधारित भएर समाजको यथार्थ चित्रण गर्ने उदेश्यले उक्त चलचित्र बनाउन लागेको कलाकार विकेशकुमार मण्डलले बताए ।
संतोष सरकारको निर्देशनमा अनुमानित ३० लाखको लागतमा निर्माण गर्न लागिएको चलचित्रको छायांकन प्रदेश एकको विभिन्न रमणीय स्थलहरुमा गरिने छ। यस चलचित्रको छायांकन असोज १० गते घटस्थापनाको दिन गर्ने बताईएको छ।
दुई घण्टाको उक्त चलचित्र बनाए पछि बिराटनगरको विभिन्न हल र छिमेकी देश भारतको बिहारमा प्रदर्शन गर्ने र गाउँ गाउँमा च्यारिटी शो गर्ने तथा गनगाई भाषीहरु रहेको अन्य देशमा समेत च्यारिटी शो गर्ने निर्माण पक्षको योजना रहेको छ।
कटहरी २ स्थित आफनै सामुदायिक भवनमा गणपती म्युजिक प्रा.लि. का निर्देशक अशोक मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि पुर्व उपप्रधानमन्त्री बद्रीप्रसाद मण्डल ,बिशिस्ट अतिथि जीवन बिकास समाजको अध्यक्ष योगेन्द्र मण्डल , पुर्व संबिधान सभा सदस्य आशा सरदार , धनपालथान गाउँ पालिका अध्यक्ष जिवछ गच्छदार ,कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरी लगायत कार्यक्रममा गन्गाई जातिको जनप्रतिनिधि , महिला र अगुवाहरु,कलाकार तथा अन्य भाषाका चलचित्रकर्मिहरुको समेत सहभागिता रहेको थियो।