राप्रपाको राष्ट्रियताको अवधारणाले राष्ट्रमा रहेको विविधताबीच एकता कायम गर्ने छ । यही दृष्टिकोण समावेशी राष्ट्रियता हो । राज्य शक्ति र राज्य सञ्चालनमा सबै क्षेत्र र जातजातिको समानुपातिक पहुँच कायम गर्ने लक्ष्य दृढताका साथ राप्रपाले लिएको छ । पुराना संस्थाहरू र यिनमा निहित मानवतावादी संस्कृतिको प्रयोग र रूपान्तरण समावेशी राष्ट्रियताको आधारस्तम्भ हो ।
धर्म र संस्कृति जीवन्त राष्ट्रका पहिचान हुन् । सदियौँदेखि सनातन हिन्दु राष्ट्र रहीआएको नेपालले पछिल्लो समयसम्म विश्वको एकमात्र हिन्दु राष्ट्र भनेर आफ्नो स्पष्ट पहिचान कायम गरेको थियो । ९२ प्रतिशतभन्दा बढी जनता सनातन धर्मावलम्बी भएको नेपाललाई जबरजस्ती ढङ्गमा धर्म निरपेक्ष राष्ट्र घोषणा गरियो । घोषणा मात्र गरिएन कि हाम्रो सदियौँदेखिको महत्त्वपूर्ण पहिचानसमेत मेटाइयो ।
यो संविधान बन्दैगर्दा संविधानसभामा राप्रपाले धर्मनिरपेक्षको प्रावधान हटाउन संशोधन दर्ता नगरेको हैन तर, हाम्रो आकार सानो भएको कारण त्यसको सुनुवाइ भएन । यसर्थ यो संविधानसँग हाम्रो आलोचनात्मक सम्बन्ध छ ।
यही संविधान निर्माणमा पनि कतिपय विषयहरूमा हाम्रो समर्थन पनि रह्यो यसर्थ यसको संशोधन हाम्रो माग हो । संविधानले नेपाललाई गणतन्त्र, धर्मनिरपेक्ष र सङ्घीयतामा पहिचान दिइरहँदा हामीले हाम्रो विधानमा वा कुनै पनि आधिकारिक दस्ताबेजहरूमा यसलाई स्थान दिएका छैनौँ । हाम्रो भनाइ र मागलाई कार्यान्वयन गराउन जनतालाई साथमा लिएर हिँड्ने हाम्रो मुख्य नीति हो ।
हाम्रो गौरवशाली इतिहास, सनातन धर्म संस्कृति,र राजसंस्थाको जगमा खडा रहेर यो शताब्दीको समृद्ध नेपाल बनाउने हाम्रो प्रतिबद्धता हो । जनताको आधारभूत मानव अधिकार सुरक्षित गरी, स्वतन्त्रता र समानताका आधारलाई सुदृढ तुल्याउने, देशको सार्वभौमसत्ता, अखण्डता र स्वतन्त्रता लाई अक्षुण्ण राखी सबल र समृद्ध नेपाल निर्माण गर्ने हाम्रो परिकल्पना हो । नेपाललाई दुर्गतिमा विकास गरी यहाँको अथाह सम्पदाको सदुपयोगबाट आधुनिक र समृद्ध नेपाल निर्माण गर्ने हाम्रो उद्देश्य हो ।
संविधान र संवैधानिक व्यवस्थासँग सहकार्यको आधारमा लोकतन्त्रको संरक्षण तथा सुदृढीकरण गर्ने र स्वतन्त्र एवं सक्षम न्याय प्रणालीद्वारा कानुनी राज्य कायम गर्ने लक्ष्य र उद्देश्य लिएको राप्रपा प्रजातन्त्र मात्र हैन बहुलवादी प्रजातन्त्रमा विश्वास गर्छ । मानवजातिको उच्चतम आदर्शमा निहित न्याय, समानता र मानवतामा अडेको नेपालकै सनातन धर्म, संस्कृति, परम्परा, इतिहास र संस्थागत निरन्तरता लाई सम्वद्र्धनवादको रूपमा लिन्छौँ भने आर्थिक राजनीतिक र प्रतिस्पर्धात्मक अर्थतन्त्र तथा बहुलवादी प्रजातन्त्रमा आधारित सशक्तीकरणका कारण संस्थागत प्रक्रिया लाई प्रगतिशील उदारवादको रूपमा हेर्छौ ।
यो चिन्तनको सम्मिश्रण र संयोजन हामीले भनेको उदारवाद हो । यो चिन्तनले हामी यस्तो नयाँ समाज बनाउँछौ जहाँ जनतालाई गरिबबाट मुक्त गराएर सरकार सक्रिय रहन्छ । जहाँ परम्परा र आधुनिकताबीच विभेद नभई समानता हुन्छ । जहाँ प्रतिस्पर्धाको नाममा निस्कने असमानता लाई नियन्त्रण पनि गरिन्छ । जहाँ राज्यले जनतालाई मुख बन्द हैन बही गर्न प्रोत्साहन गर्छ । राज्यबाट जनता डराउने हैन, सुरक्षित महसुस गर्छन् । मुलुकको इतिहास, जातजाति र भूगोललाई सँगाल्छौँ । धनी संस्कृतिको विरासत जोगाउँछौँ । धर्मको मानवतावादी दृष्टिकोणलाई मान्यता दिँदै त्यसलाई हाम्रो चरित्र र आचरणको जग मान्छौँ । परम्परागत संस्थालाई आदर र कदर गर्छौ ।
यो सबैले वनेको हाम्रो परिचय नेपाली हो । यो परिचयलाई संरक्षण गर्दै मुलुक चलाउने हाम्रो दर्शन उदारवाद हो । यो एक राजनीतिक दर्शन हो । यसले जनताको व्यक्तिगत स्वतन्त्रता र सही जनताबीच समानताको वकालत गर्छ । प्रजातन्त्र, आवधिक निर्वाचन, मानव अधिकार, समानता र स्वतन्त्रताको समष्टिगत विकास यसको रूप हो । हरेक व्यक्तिलाई संरक्षण गर्दै पूर्ण क्षमता हासिल गराउने र एकले अरूको हक हनन नगरी स्वतन्त्रता पूर्वक जिउन पाउने अवधारणा उदारवादले दिन्छ । सबैबीच समानता कायम गर्दै, आर्थिक र सामाजिक विभेद हटाउने, कलंकको रूपमा रहेको छुवाछूत जस्तो प्रथालाई सदाको लागि अन्त्य गर्ने र अवसरमा समानतालाई सरकारी कर्तव्य ठान्छ उदारवादले ।
छोटकरीमा हाम्रो उदारवादले ठूलो माछाले सानो माछालाई खान दिँदैन, सानो माछालाई ठुलो बनाएर प्रतिस्पर्धामा उतारिन्छ । बहुमतले शासन गर्छ, अल्पमत प्रतिपक्षमा रहन्छ तर अल्पमतको पूर्ण सम्मान गरिन्छ । वाक स्वतन्त्रता यसको प्राण हो । आर्थिक, सामाजिक र राजनीतिक सुरक्षा सरकारले गर्छ उदारवादमा ।
बजारमा स्वस्थ प्रतिस्पर्धा हुन दिन उदारवादले सबैखाले कार्टलिङ, सिन्डिकेट र मनोपली खारेज गर्दै उद्योग र व्यापारिक क्षेत्रका सबै झन्झटिला प्रक्रिया हटाउँछ ।मुख्य भ्रष्टाचारलाई शून्य सहनशीलतामा स्थापित गर्छ । यसमा शिक्षा र सीप विकासको दायित्व सरकारको हुन्छ, गरिबी न्यूनीकरण र जीवनस्तर सुधार्ने दायित्व सरकारले नै लिन्छ । आज देखिएको सरकारी प्रशासनमा दलीय हस्तक्षेपको कारण मुलुकको राजनीतिक अवस्था खस्किएको छ । हामी प्रशासनमा हस्तक्षेप गर्न पनि रुचाउँदैनौँ ।
मुलुक निर्माणमा उल्लेख्य योगदान गरेको, युद्धमा परिवारका सदस्य समेत गुमाउँदा पनि विचलित नभई नेपाल एकीकरणको अभियानमा अग्रपङ्क्तिमा बसेर लडेका, प्रजातन्त्र प्राप्तिको निमित्त राजगद्दी दाउमा लगाएर, मुलुकलाई नयाँ विकास आयाममा प्रवेश गराएका, विश्व सामु हामी शान्ति चाहन्छौँ भन्ने प्रस्ताव पेश गरेका, विदेशीको एक इसारा मानेको भए सदाको निमित्त पाइने सत्तासमेत परित्याग गरेका, राजगद्दी परित्याग गर्दा समेत, हाँसी हाँसी पत्रकार सम्मेलन गर्न सक्ने अदम्य साहस बोकेका शाह वंशीय परम्परागत राजसंस्था राप्रपाको आस्था हो । यसमा हामी अविचलित छौँ । राप्रपा सम्पूर्ण रूपमा राजसंस्थावादीहरूको पार्टी हो । हामी छेपारोको रूपमा हैन चट्टानको रूपमा यसको पक्षमा छौँ ।
आजको परराष्ट्र नीति केवल सत्ता जोगाउन केन्द्रित छ , हामी वडामहाराधिराजको दिव्य उपदेश र वर्तमान अवस्थाको समेत सम्मिश्रणमा परराष्ट्र नीति हुनुपर्छ भन्नेमा दृढ छौँ । नेपाल दुई ढुङ्गा बिचको तरुल भन्ने उक्तिलाई अङ्गाल्दै योसँग सहकार्य गर्दछौ । आजको राजनीति केवल सत्ताको निमित्त मात्र बन्दै गइरहेको छ । नीति, सिद्धान्त र विचारबाट च्युत भएकाहरूको हातमा मुलुक सञ्चालनको साँचो बारबार पुग्दा देश थप वरवाद हुँदै गइरहेको छ । वर्तमानलाई विश्लेषण गर्ने हो भने हाल विपरीत विचारका दलहरू बिचको गठबन्धन केवल सत्ता प्राप्तिको निमित्त मात्र हो । विपरीत विचार भयका दल बिचको गठबन्धन पवित्र छैन।प्रजातन्त्रमा खुला रूपले एक्लाएक्लै जनता माझ गइन्छ, जनताले जसलाई स्विकार्छ त्यो स्थापित हुन्छ ।
यहाँ आफ्ना गलत हर्कतहरु लुकाउन गठबन्धनको नाममा ‘ठग’हरको बन्धन बनाइएको छ । आश्चर्य यो छ गठबन्धन को निर्णय गठबन्धनले गर्दैन, सिटको बाँडफाँडदेखि भावी प्रधानमन्त्रीसमेत विदेशीले चयन गरिदिन्छ । यसको विरुद्धमा बलियो उपस्थितिको आज आवश्यक छ । यो आवश्यकताको खाडल केवल राप्रपाले मात्र पूर्ति गर्न सक्छ तसर्थ हामी हार्न हुँदैन ।
०४६ पछि हालसम्म राजनीतिमा क्रियाशील नेताहरूको सम्पत्ति छानबिन गरौँ हामी तयार छौँ भनेर चुनौती दिने डा। प्रकाशचन्द्र लोहनी, भ्रष्टाचार गरेर खानु आमाको रगत खाए सरह हो भनेर हिँड्ने अध्यक्ष राजेन्द्र लिङदेन, विद्धान एवं सर्वकालीन नेता पशुपति शमशेर जबरा, भद्र एवं शालीन व्यक्तित्व पूर्व प्रम लोकेन्द्रबहादुर चन्दलगायत काबिल नेताहरूले नेतृत्व गरेको राप्रपाको अनिवार्य उपस्थिति आजको आवश्यकता हो । यसर्थ अध्यक्ष ज्युको भनाइअनुसार हामीलाई हार्ने छुट छैन । एक पटक, यही पटक ।
लेखक जनकराज पाठक राप्रपाका निर्वाचित केन्द्रीय सदस्य हुन् ।