भदौ २७, २०७९ सोमबार

बैतडीमा भाइरल ज्वरोका बिरामीहरू बढ्न थालेका छन् । अधिकांश गाउँका बासिन्दा भाइरल ज्वरोको सिकार भएका छन् । जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, निजी मेडिकलमा उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो भाइरल ज्वरोका रहेका स्वास्थ्यकर्मीले बताए ।

जिल्ला अस्पतालमा हाल एकसयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेकामा आधाभन्दा बढीमा भाइरल ज्वरो देखा परेको छ । पहिलेको तुलनामा केही दिनयता यहाँका स्वास्थ्य संस्थामा बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

पछिल्लो समयमा जिल्लामा भाइरल ज्वरो मात्रै नभएर टाइफाइड, स्क्रब टाइफस, कोरोनाका बिरामीहरूसमेत फेला पर्न थालेका छन् ।