भदौ २७, २०७९ सोमबार

काठमाडौँ । चितवनको एक सामुदायिक विद्यालयले  विद्यार्थी विद्यालय पुगेको र बाहिरिएको जानकारी दिने प्रविधि प्रयोगमा ल्याएको छ । भरतपुर महानगरपालिका–१० स्थित नारायणी नमुना माविले विद्यार्थीलाई समयमै विद्यालय आउने र घर जाने वातावरण बनाउन अभिभावकको मोबाइलमा म्यासेज पठाउन थालेको हो ।


यो प्रविधि जडान भएपछि विद्यार्थी विद्यालय पुग्नासाथ र विद्यालयबाट घरका लागि हिँड्नासाथ म्यासेज अभिभावकको मोबाइलमा पुग्छ । विद्यालयका प्राचार्य पूर्णप्रसाद दवाडीले स्कुलमा विद्यार्थीको सङ्ख्या धेरै भएका कारण व्यवस्थापनमा सहजता ल्याउन मोबाइलमा म्यासेज पठाउने व्यवस्था गरिएको जानकारी दिए । 

प्राचीन मेटलका सञ्चालक गोपालभक्त अधिकारीले विद्यार्थीको आइडी कार्डमा चिप जडान गरिएको र विद्यार्थी विद्यालय प्रवेश गर्ने र बाहिरिने बित्तिकै अटोमेटिक रिड गरेर अभिभावकलाई म्यासेज पठाउने बताए ।

अभिभावकलाई म्यासेज पठाउने प्रविधि केही निजी स्कूल कलेजमा यसअघि नै जडान गरे पनि सामुदायिक विद्यालयमा नारायणी नमूना मावि जिल्लामा नै पहिलो भएको उनले बताए ।

विद्यालयसँग एक वर्षको सम्झौता गरेर काम गरिएको अधिकारीले जानकारी दिए । विद्यालयको बसमा समेत जिपिएस जडान गरिएको छ । जसको माध्यमबाट अभिभावक तथा शिक्षकले मोबाइल एपको माध्यमबाट स्कुल बसलाई ट्रयाक गर्न सक्नेछन् ।

विद्यालयमा तीन हजार पाँच सय बढी विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयले सूचना र प्रविधिको माध्यमबाट अध्ययन अध्यापन गराउने कुरालाई प्राथमिकतामा राखेको जनाएको छ ।