भदौ २८, २०७९ मंगलबार

थाइल्याण्डकी रानीको मजाक उडाएको भन्दै त्यहाँको अदालतले एक अभियन्तालाई जेल सजायको फैसला सुनाएको छ।

रानीको जस्तै पहिरनमा प्रदर्शनमा उत्रिएर मजाक उडाएको भन्दै २५ वर्षीया अभियन्ता सी याङलाई सोमबार दुई वर्ष कैदको फैसला सुनाइएको समाचार संस्था रोयटर्सले जनाएको छ। सन् २०२० को प्रदर्शनमा नियतवश नै याङले रानीको मजाक उडाएको पुष्टि भएको अदालतको फैसलामा भनिएको छ।

शाही परिवारका सदस्यको मजाक उडाएको पुष्टि भए थाइल्याण्डमा १५ वर्षसम्म जेल सजाय हुनसक्ने कानुन छ। थाइल्याण्डमा दुई वर्षयता २ सय १० जना राजनीतिक अधिकारकर्मीहरू शाही परिवारको मजाक उडाएको कसुरमा जेल चलान भएका छन्।

दुई वर्षअघिको सडक प्रदर्शनका याङ गुलाबी सिल्क पहिरनमा सजिएकी थिइन्। उनलाई एक पुरूषले  छाता ओढाएका  थिए। उनी रेड कार्पेटमा हिँड्दा अरू प्रदर्शनकारी उनको दर्शनका लागि भुइँमा बसेको देखिन्थ्यो।