महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाका ५३ छात्रालाई साइकल प्रदान गरिएको छ । छोरी शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यले मटिहानी–८ स्थित श्रीराम माध्यमिक विद्यालयमा अध्ययनरत ती छात्रालाई साइकल प्रदान गरिएको हो ।
नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयमा कक्षा ११ मा नामाङ्कन गराएर अध्ययन गर्ने छात्रालाई विसं २०७६ देखि नै साइकल प्रदान गर्दै आएको छ । नगरप्रमुख हरिप्रसाद मण्डलले साइकल प्रदान गर्दै साइकलले छात्राहरूमा आत्मविश्वास बढाउने र पढाइमा उत्प्रेरित गर्ने बताए।