भदौ ३०, २०७९ बिहिबार

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डमार्फत कक्षा १ देखि १२ सम्मको शैक्षिकपात्रो प्रकाशन गर्ने तयारी गरेको छ ।

कुन तहमा कहिले भर्ना हुन्छ, पढाइ कहिलेसम्म हुन्छ, परीक्षा र परीक्षाफल प्रकाशन कहिले हुन्छ भन्ने विषय समेटेर केही दिनभित्रै विद्यालय तहको शैक्षिक क्यालेण्डर सार्वजनिक हुन लागेको हो ।


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले हालसम्म विद्यालय तहको शैक्षिक क्यालेण्डर नभएको सन्दर्भमा केही दिनभित्रै उक्त क्यालेण्डर सार्वजनिक गराइने जानकारी दिए । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको १३औँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजित ‘आगामी निर्वाचनमा सार्वजनिक शिक्षाका मुद्दाहरू’ विषयक छलफल कार्यक्रममा उनले शिक्षण सुधारका सवालमा तहगत रूपमा तथा कानुनी, भौतिक, शैक्षिक रूपमा काम भइरहेको र आउने सङ्घीय शिक्षा ऐनले शैक्षिक गुणस्तरका सवाल सम्बोधन गर्ने अपेक्षा व्यक्त गरे ।