पर्वत: लक्की अलिका नामले चिनिने भारतीय गायक, गीतकार तथा अभिनेता मस्कुद मुहम्मद अलिले आज पोखरामा हुने ‘लाइभ कन्सर्ट’ मा आफ्ना साङ्गीतिक प्रस्तुति राख्ने भएका छन्।
सन् १९९० को दशकमा भारतीय साङ्गीतिक क्षेत्रमा ‘इन्डोपप’ सङ्गीतमा महत्त्वपूर्ण योगदान दिएका उनले पहिलोपटक पोखरामा आफ्नो प्रस्तुति दिन लागेका हुन्।
पोखराको ‘बिग क्लब’ ‘क्याटवाक’मा प्रत्यक्ष साङ्गीतिक प्रस्तुतिका लागि बिहीबार नै पोखरा आइपुगेका उनले शुक्रवार प्रस्तुति दिने भएका हुन्। ‘क्याटवाक’का सञ्चालक गुप्त लामाका अनुसार पोखराको खहरेचोकमा गत भदौ २ गतेबाट मात्रै ‘क्याटवाक’ सञ्चालनमा आएको हो।
सञ्चालनको सुरुवाती अवस्थामै ‘बोल्ड सो’ गर्न सकेमा यसको व्यापार र बजार राम्रो हुने भएकाले डिजे फिन्जोकको सहयोगमा अलिलाई पोखरा ल्याइएको हो।
‘क्याटवाक’मा अलिको साङ्गीतिक प्रस्तुति सुन्न र हेर्न टिकटको मूल्य पहिलो चरणमा १५ सयदेखि दुई हजार रुपैयाँसम्म निर्धारण गरिएको छ भने दोस्रो चरणमा २५ सयदेखि तीन हजार रुपैयाँसम्म तोकिएको छ। छिटो टिकट खरिद गर्नेहरूलाई छूट दिने उद्देश्यले चरणबद्ध टिकट बिक्री गरिएको आयोजकले जनाएको छ। उमेरले ६३ वर्ष पुगेका अलिसँगै आएका उनको समूहका अन्य सदस्यहरूले पनि आफ्ना साङ्गीतिक प्रस्तुति राख्नेछन्।
‘सुनो’ नाम एल्बमबाट गायकको परिचय बनाउन सकेका अलिले यही एल्बमबाट थुप्रै ‘अवार्ड’ जितेका छन्। ‘इन्डोपप’मा ‘वेस्ट भोकलिस्ट’ को ‘स्क्रिन अवार्ड’ प्राप्त गरेका अलिले ‘ना तुम जानो ना हम’, ‘गोरी तेरे आँखे’, ‘सिफर’, ‘कवि अैसा लगता है’, ‘मेरी जान हिन्दुस्तान’ लगायत ‘हिट नम्बर’ र ‘एल्बम’ बजारमा ल्याएका थिए।
‘क्याटवाक’का सञ्चालक लामाका अनुसार ‘क्याटवाक’ सञ्चालनमा ल्याउन करिब ३० करोडभन्दा बढीको लगानी भएको छ। ‘क्याटवाक’ले एकैपटक दुई हजारभन्दा बढी व्यक्तिलाई रेष्टुराँ र फ्लोरमा सेवा दिन सक्नेछ।
क्याटवाकको डान्स फ्लोर, म्युजिक सिस्टम र सुरक्षा प्रणाली अन्तरराष्ट्रिय स्तरको रहेको सञ्चालक लामाको भनाइ छ।