असोज २, २०७९ आइतबार

नेपालमार्ग, काठमाडौँ । काठमाण्डौँ महानगरका प्रमुख बालेन शाहलाई डा. जगमान गुरुङले बधाइ दिएका छन् । टुकुचा खोला पत्ता लगाएकामा गुरुङले खुशी व्यक्त गर्दै अब काठमाण्डौँ महानगरको मुटुमा बडो उपेक्षित अवस्थामा रहेको कान्तीश्वर महादेवको उद्धार गर्न आग्रह गरेका छन् । 

गुरुङले फेसबुकमा लेखेका छन् – बालेनज्यूलाई हार्दिक बधाइ छ। प्रमुखज्यूले ईछ्युमती (टुकुचा) पत्ता लगाउनु भयो । मेयर साहेबलाई यसको पुण्यफल अवश्यमेव प्राप्त हुनेछ। अब मेयर साहेबले काठमाण्डौँ महानगरको माझ मुटुमा बडो उपेक्षित अवस्थामा रहेको कान्तीश्वर महादेवको उद्धार गर्नुहोस्। यहाँको उपकार हुनेछ।

यसैगरी शङ्खमूल तीर्थको पनि उद्धार गर्नुहोस्। सरकारको अबुझ र अकर्मण्यताले गर्दा अहिले शङ्खमूल तीर्थमा वागमती र मणिमतीको सङ्गमलाई बिगारेको छ। अब वागमती र मणिमतीको सङ्गमलाई ठ्याक्कै शङ्खमूल तीर्थमा नै ल्याउनुपर्छ।

शङ्खमूल तीर्थमा भगवती पार्वतीको आज्ञाबाट कारुणिक बुद्धले स्थापना गरेको कारुणिक शिवलिङ्ग अहिले लुप्त अवस्थामा छ। शिवलिङ्गको जलहरि वागमतीको बगरमा मिल्किएको अवस्थामा छ।अतः शङ्खमूलको सङ्गमलाई आफ्नै मूल स्थानमा ल्याएर त्यहाँ कारुणिकेश्वर शिवलिङ्ग स्थापना गर्नु पर्दछ।यसो गर्न सकेमा नेपालबाट पुनः विश्वभर करुणाको भाव प्रसार भएर विश्वमा प्रशान्ति व्याप्त हुनेछ।
।। तथास्तु ।।