काठमाडौँ - अमेरिकामा हुने अस्कर अवार्डको ९५औं संस्करणका लागि ऐना झ्यालको पुतली सिफारिस भएको छ । नेपालको अन्तरराष्ट्रिय फिचर फिल्म छनोट समितिले सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ सिफारिस गर्ने निर्णय गरेको हो ।
समितिको सोमबार बसेको बैठकले समितिलाई प्राप्त फिल्ममध्येबाट ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गरेको छ ।
नेपालको अन्तरराष्ट्रिय फिचर फिल्म छनोट समितिले अस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई २०७९ भदौ ३० गतेभित्र फिल्म बुझाउन आग्रह गरेको थियो । सोही सूचनाअनुसार नेपालबाट दिनेश राउत निर्देशित प्रकाश, सुवर्ण थापा निर्देशित राधा र सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ले सहभागिताका लागि आवेदन दिएका थिए ।
समितिले प्राप्त तीन फिल्ममध्ये सिनेमाको प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई ख्याल गरी ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।
यस सालको अस्कर अवार्ड मार्च १२ का दिन आइतबार लस एञ्जल्सको डल्बी थिएटरमा सम्पन्न हुनेछ । नेपालमा विमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेसनल फिचर फिल्म छनोट समिति रहेको छ । समितिमा लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, राजेन्द्र शलभ, राजुविक्रम थापा, सामीप्यराज तिमल्सेना, लोकेन्द्र पराजुली “कपील”, चिरञ्जीवी गुरागाईं सदस्य रहेका छन् ।