अमर मावि पटिहानी भरतपुर–२२ पदमपोखरीमामा कक्षा ९ मा पढ्दै गरेका एञ्जल महतोसहित अन्य विद्यार्थीलाई विद्यालयले केही पत्रपत्रिका वितरण गरेको छ । बालदिवसका अवसरमा विद्यालयले कक्षा ९, १० र ११ कक्षाका विद्यार्थीलाई मुना, युवामञ्च, मधुपर्क र नारी पत्रिका वितरण गरेको हो । विद्यार्थीमा अतिरिक्त क्रियाकलापअन्तर्गत सिर्जनात्मक बनाउन र पठन संस्कार बसाउन पत्रिका वितरण गरिएको प्रधानाध्यापक बुद्धिमान शर्माले बताए ।
अमर माविमा पुस्तकालय पनि छ । पुस्तकालयमा विभिन्न पुस्तकहरू राखिएका छन् । विद्यार्थीहरूले खाली समयमा पुस्तकालयमा गएर पढ्ने गरेका छन् । विद्यार्थीले पढ्न रुचि देखाउँदैनन्, विद्यार्थीमा सकेसम्म पढ्नुपर्छ भन्ने बानीको विकास होस् भन्ने विद्यालयले लक्ष्य लिएको छ ।
कक्षा ९ मा पढ्ने विशेष श्रेष्ठले मुना र युवामञ्च हातमा देखाउँदै भने – मुना मलाई मनपर्ने पत्रिका हो, कहिलेकाही बजार जाँदा यो पत्रिका खोजेर ल्याउँथें, आज विद्यालयमै पाउँदा खुसी लाग्यो । विशेष जस्तै कक्षा ९ मै पढ्ने इशान लामाले पनि मुना र युवामञ्च अबदेखि नियमित रूपमा खोजेर पढ्ने बताए । यी पत्रिकामा हामीलाई पढाइमा सहयोग पुग्ने थुप्रै सामग्रीहरू हुँदा रहेछन्, लामाले भने ।
कक्षा १० मा पढ्ने सोनिया विष्ट र अमृत क्षेत्रीले पनि पत्रपत्रिका र साहित्यका पुस्तकहरू आफूलाई मनपर्ने बताए ।
नेपाली विषय पढाउने शिक्षिका मीनादेवी घिमिरेले विद्यार्थीहरूलाई सिर्जनशील बनाउन पत्रिका उपलब्ध गराएर हौसला बढाएमा सफल भइने बताइन् ।