काठमाडौँ । २०६७ सालमा हो पहाडतिर कतै विशाल महायज्ञ आयोजना गरिएको थियो। म प्रवचन गर्न गएको। पुस्तक र व्यास पूजापछि भजने बाजा पनि पूजा गर्ने हाम्रो प्रचलनअनुसार सबै बाजाको पूजा भयो तर सारङ्गीलाई कसैले छुँदा पनि छोएन न त फूल अक्षता नै चढायो।
कलाकारहरूले मेरा मुखमा पुलुक्क हेरे। मैले केही बोलिनँ ।आखिर छाला भनेर नै हेला गरेको भए त छाला मादलमा पनि हुन्छ।खास कारण त सारङ्गीले राम्रोसँग नै जातीय छुवाछुत व्यहोरेको थियो। मंगलाचरण,गणेश वन्दना गरेँ।भागवती कथा गङ्गा बग्न थालिन् तर मेरा मानस पटलमा हिन्दू समाजलाई कसरी सशक्त बनाउने भन्ने तिरै भावहरू मडारिनाले प्रवचन त्यति सशक्त भएनछ कि क्या हो बेलुका समितिका अध्यक्षले सोधे – गुरु स्वास्थ्यमा कुनै समस्या छ कि आज कथा फुरेन।
मैले मनमनै परमात्मालाई जबाफ दिएँ – हे जगन्नाथ, व्यथा फुरेपछि कथा फुर्दैन मेरो प्यारा❤️
आज पाश्चात्य संगीतको ठूलो बोलवाला छ समाजमा।काठमाडौं त ब्याण्डबाजाले कब्जा गरि नै सक्यो।नेवारी बाजाहरू नेवारकै मात्रै पहिचान बन्न विवश भए पनि धन्न जोगाएका छन् परम्परा।सहरिया क्षेत्रमा ड्रमसेट र ब्याण्डबाजाहरूले नै कानका जाली फुटाउँछन्।देशको पूर्वी भागको नौमति बाजा ब्याण्ड बाजाको अगाडि निरीह भएर जसो तसो अडिएको देखिन्छ कतै–कतै।मध्य पश्चिम, सुदूर पश्चिम क्षेत्रको बाजा पनि पहिले जस्तो दमदार अवस्थामा छैन वर्तमानमा। तर पञ्चैबाजाको जबर्जस्त प्रचलन रहेको पश्चिमाञ्चलमा भने गाउँ शहर जताततै पञ्चैबाजाको बोलवाला छ अझै पनि।यहाँ प्रचलित पञ्चैबाजाको बनावट र आकर्षक वादन शैलीले पनि होला ब्याण्डबाजा शून्य प्रायः देखिन्छ यहाँ।यहाँका पञ्चैबाजाहरूको बनावट र वादन शील्पको सिकाइबाट देशका अन्य भागमा प्रचलित नौमति बाजाहरू र पञ्चै बाजाहरूको स्तर उन्नति गर्नु पर्ने जस्तो लाग्छ मलाई।खासमा त पश्चिमाञ्चल क्षेत्रमा भएको लोक गीत र संगीतको वृहत्तर विकास नै कारण हो यसमा। रुकुम पूर्व र कास्की पश्चिममा मात्रै हजारौँ पञ्चै बाजाका तालहरू लोपोन्मुख प्रायस् छन्।हामी साना छँदा बढाइँ बाजा मात्रै सोह्र ताल बज्थे। पचासौँ तालमा घन्किने डम्फु मादल,भेगै पिच्छे हजारौ तालमा घन्किने पञ्चैबाजा,सयौँ भावधारामा अलाप्ने सारङ्गी,मुरली,पाते स्वर,सुसेली अब लोपोन्मुख छन्।
खैँजडी,मजुरा,मादल,डम्फु,दमाहा,ट्याम्को,नरसिँहा,करनाल,सारङ्गी,मुर्चुङ्गा,एकतारे जस्ता श्रुति मनोहर साङ्गीतिक बाजाहरू इतिहास बन्दै छन्।पश्चिमीहरूले नयाँ–नयाँ बाजा आविष्कार गरेर अस्तित्व निर्माण गर्दै छन् हामीले आफ्नो घरमा आगो लगाएर आगो ताप्दै जाडोबाट जोगिने प्रयास गर्दै छौँ।विशेषतः हाम्रा लोक बाजाहरू कथित उपेक्षित समूदायले बजाउने हुनाले बाजाहरू समेत सामाजिक रुपमा उपेक्षित बनेको सत्य नस्वीकारे पाप लाग्छ।राष्ट्रिय साङ्गीतिक मञ्चहरूमा गएर हेर्नोस् त्यहाँ विदेशी बाजा बजाउनेहरूको सम्मान र हाम्रा बाजा बजाउनेहरूको अपमान प्रष्ट देखिन्छ।यी बाजाहरू बजाउने काम गरेमा जातीय छुवाछुतको मार अझै खेप्नु पर्ला भन्ने पिरले र वैदेशिक रोजगारीको कारणले युवा पुस्ताले यी बाजाहरू छुन पनि मान्दैन र बजाउनै जान्दैन।बरू अचेल अन्य समूदायले यी बाजाहरू बजाउन थालेका छन्।हाम्रो काली गण्डकी प्रश्रवण क्षेत्र मगरातमा लोक बाजाहरूको उत्थानमा मगर वर्गको प्रमुख भूमिका रहेको छ अचेल।केही दिन पहिले नवलपरासीमा भागवत प्रवचन गर्न आउँदा बाहुन पञ्चैबाजा पनि देखेँ।राम्रै बजाउन सिकेछन्।खुसी लाग्यो।हाम्रा बाजा हुन् त हामी सबैले बजाएको राम्रो प्रशंसा पनि गरेँ।
बागलुङ,स्याङ्जा,गुल्मी र पाल्पाका त गाउँ पिच्छे नै दुर्लभ ताल र सुरहरू परम्परागत रुपमैँ सुरक्षित छन्।यति धेरै लोक भाकाहरू यी वन पाखामा सुसेलिन्छन् कि जसको लेखाजोखा असंभव नै छ।पुरानो बाहुन पुस्ताले खैँजडी मात्रै बाह्र ताल बजाउँथे मैले सात ताल त जानेको छु तर के गर्नु सबै जसो लोक बाजाको सम्बन्ध परम्परागत रुपमैँ जातीय छुवाछुतसँग हुनाले,बसाइ सराइ र वैदेशिक रोजगारीको कारणले,लोक बाजा र लोक बाजा बजाउनेहरू प्रतिको राज्य र समाजको बेवास्ता आदि कारणहरूले गर्दा यो ऋग्वेद देखि आज सम्म सुरक्षित रहेको महान् ऐतिहासिक विरासत लुप्त हुनै लागेको छ।
यति उर्वर सँस्कृति थियो म सानो छँदा, आधा त नष्ट नै भयो।अब बूढो हुँदा सम्म पुरै मासिएको देखेर मर्नुपर्ने भयो भन्ने लाग्छ चिन्ता अचेल ।
हुन त म बबुरोको चिन्ताले के हुनेवाला छ र फर्केलान्, दिन फेरि उत्तर भनी बस्छे अकेली रुँदै......
हर हर महादेव
भीमकान्त पन्थी