असोज ४, २०७९ मंगलबार

नेपाली चलचित्र महापुरुषको ‘बेमौसमी’ बोलको गीत सार्वजनिक भएको छ । मंगलवार काठमाडौंमा एक कार्यक्रमका बीच गीत सार्वजनिक भएको हो ।

गीतमा हरिवंश आचार्य र गौरी मल्ल, अरुण क्षेत्री र अञ्जना बराईलीको मुख्य अभिनय रहेको छ । कात्तिक ११ गते सार्वजनिक हुने चलचित्र महापुरुषको यो गीत एस।डी योगी र रेश्मा पुनको स्वर रहेको छ । कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार हरिवंश आचार्यले अहिलेको समयमा एउटा मध्यम चलचित्र आउन जरुरी रहेको बताए । उनले नेपालको बजारमा अहिले बीचको धारको चलचित्र आवश्यक रहेको भन्दै तयारी चलचित्रको धार र व्यापारिक चलचित्रको धारलाई जोडेर चलचित्र निर्माण गर्न आवश्यक रहेको बताए । 

त्यस्तै निर्देशक प्रदीप भट्टराईले समाजको गम्भीर विषयवस्तुलाई उठाएर चलचित्र निर्माण गरिएको बताए । उनले समाजमा वर्षौंदेखि जरो गाडेर बसेको मान्यताहरुलाई चलचित्रले भत्काउने प्रयास गरेको बताए । 

भाइटिकाको भोलिपल्ट देशभर प्रदर्शन हुन लागेको चलचित्र महापुरुषको लेखन तथा निर्देशन प्रदीप भट्टराईले गरेका छन् ।

चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रवीन्द्रसिंह बानियाँ, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, सिरु बिष्ट, कोपिला थापा, शिखा तामाङ, कविता श्रेष्ठ, नरेश पौडेल, नरेन्द्र कंसाकार, सविन बाँस्तोला, अर्जुन आचार्य, सुमन रिमाल, सुमन बास्तोला, माधव अधिकारी, प्रकाश भट्टराई, घनु जोशी, प्रेम पाण्डे, सम्यकसिंह बानियाँ, भिभियाना थपलिया, जगदीश अधिकारी, जेबी रुवाली, प्रज्ज्वोल लुईंटेल लगायतका कलाकारको अभिनय रहेको छ ।