असोज ५, २०७९ बुधबार

बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा तोडफोड भएको छ । शैक्षिक भ्रमणका लागि रकम नदिएको भन्दै कचोर्वा, कंकाली, खजानी माध्यामिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरूले कार्यालयमा तोडफोड गरेका हुन् ।

कार्यालयमा तोडफोड र प्रहरीमाथि ढुङ्गामुढा गर्दा प्रहरी निरीक्षक देवराज काफ्लेसहित ७ जना सुरक्षाकर्मी घाइते भएका छन् भने केही विद्यार्थीसमेत घाइते भएका छन् ।

कार्यालयको गाडी, टिभी, एसी, सोफा झ्याल, ढोका, कम्प्युटर, फर्निचर, अरू विद्युतीय उपकरणलगायतमा तोडफोड गरिएको नगरप्रमुख किशोरी साह कलवारले जानकारी दिए ।

भ्रमण खर्च माग्न विद्यार्थीहरू आएकोमा डेंगुको प्रकोप फैलिरहेकोले अहिले भ्रमणमा नजान र केही दिनपछि बजेट उपलब्ध गराइदिने भन्दा पनि सो समूहले कार्यालयमा अन्धाधुन्ध तोडफोड गरेको नगरप्रमुख कलवारले बताए ।

घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले क्षतिको विवरण संकलन भई नसके पनि करिब ३० लाख रुपैयाँ बढीको क्षति भएको बताए ।