कर्णाली प्रदेशसभाको पहिलो कार्यकालमा प्रदेशसभाको २ सय १७ वटा बैठक बसेको छ । उक्त अवधिमा कुनै पनि प्रदेशसभा सदस्य शतप्रतिशत उपस्थित भएका छैनन् ।
प्रदेशसभा सचिवालयले दिएको तथ्याङ्कअनुसार संसद्मा धेरै अनुपस्थित हुनेमा बहालवाला र पूर्वमन्त्रीहरू छन् । सचिवालयको रेकर्डअनुसार सबैभन्दा बढी अनुपस्थित हुनेमा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही भएका छन् । शाही २ सय १७ मध्य ८४ वटा संसद् बैठकमा मात्रै उपस्थित भएका हुन् । प्रदेशसभामा सबैभन्दा धेरै उपस्थित हुनेमा भने नेकपा एमालेकी सांसद राजु नेपाली छिन् । उनी प्रदेशसभाका २ सय १७ वटा बैठक बस्दा २ सय १० दिन उपस्थित भइन् ।
त्यस्तै, मुख्यमन्त्री जीवनबहादुर शाही १ सय ६४ दिन संसद् बैठकमा हाजिर भएका छन् भने उनी ५३ बैठकमा गयल भएका छन् । प्रमुख प्रतिपक्ष दल एमालेका संसदीय दलका नेता यामलाल कँडेल एक सय ७२ दिन संसद् बैठकमा उपस्थित भएका छन् ।
एमालेका प्रमुख सचेतक गुलाबजंग शाह एक सय ९६ दिन बैठकमा उपस्थित भएका छन् । प्रदेशसभामा माओवादी केन्द्रका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मा अहिलेसम्म प्रदेशसभाका बैठकमा एक सय ४९ दिन उपस्थित भएका छन् ।