असोज ७, २०७९ शुक्रबार

काठमाडौं: त्रिभुवन विश्वविद्यालय (त्रिवि) को लेखा र कर्मचारी प्रशासन शाखामा लागेको ताला खुलेको छ। त्रिविले वार्तापछि ताला खुलेको जनाएको हो। 

त्रिविले असार २२ गते व्यवस्थापन संकायअन्तर्गत बिबिए छैटौं सेमेस्टरका लागि लिएको एमजिटी २०३: अर्गनाइजेशन विहेवियरको प्रश्नपत्र मोर्डन नेपाल कलेजको प्रि–बोर्डका लागि लिएको प्रश्नपत्रसँग हुबहु मिलेको तथ्य बाहिरिएको थियो।

त्यसपछि दोषीलाई कारबाही गर्न माग गर्दै त्यहाँकै विद्यार्थीहरूले ताला लगाएका थिए। उक्त आन्दोलनमा नेपाल विद्यार्थी संघले साथ दिएको छ। त्रिविका सूचना अधिकारी योगेन्द्रप्रसाद दाहालका अनुसार अझै तीनवटा शाखामा लागेको ताला खुलेको छैन।

‘भिसी कायार्यलय,रजिष्टार र रेक्टरमा लागेको ताला खुलेको छैन,कहिले खुल्ने हो थाहा छैन,’उनले भने।

अहिले यी तालाको लागि वार्ता भएको जानकारी अहिलेसम्म नआएको उनले जानकारी दिए। त्रिविले  भदौ २७ गते एक विज्ञप्ति जारी गर्दै  विभिन्न विद्यार्थी संगठनहरूले गरेको तालाबन्दी खोल्न आग्रह गरेको थियो।

तालाबन्दीले गर्दा आर्थिक तथा प्रशासनिक काम रोकिएको र त्रिविले दशैँ तिहारजस्ता चाडपर्व नजिकिँदै गर्दा शिक्षक तथा कर्मचारीहरुलाई तलब दिन नसकिएकाले ताला खोल्न आग्रह गरेको थियो।