कविताः बा !
भो,
पछि गर्नेछु ती बातहरू
एक छाक मात्र खाइ बा-आमाले
बिताएका रातहरू
हलोले जमीनको छातीमा घाउ पारी
मेरो भोक मेटाएका बातहरू.......
गरीबीमा स्नातक गरेका अनि
जिम्मेवारीले स्नातकोत्तर गरेका
मेरा 'बा'ले भने मलाई पीएचडीसम्म
पढाउने सोच्नुहुन्छ.......
भो,
'बा'का खाली खुट्टा र
मैले लाउने जुत्ताका कुराचाहिँ
अलि पछि भन्नेछु.....
अलि पछि भन्नेछु -
बा'का रहरका कुरा अनि
म बस्ने शहरका कुरा......
उता घरको धुरी अहिलेसम्म उस्तै छ
रोइरहन्छ आज पनि
आँसु बगाइरहन्छ.......
'बा'ले हरेक महिना चिट्ठी पठाइरहँदा
मैले पनि हरेक महिना कलेजले दिएको पत्र पठाइरहन्छु
अनि कसरी बिर्सिनु ?
महिना नसकिँदै पैसा
तिरिएको कुरा........
लोकराज जोशी, कञ्चनपुर ।