काठमाडौँ । बाराको प्रस्तावित दोस्रो अन्तरराष्ट्रिय विमानस्थलको टाँगिया बस्तीमा बल्ल बिजुली बलेको छ । बिजुली बल्दा त्यहाँका स्थानीय निकै खुसी भएका छन् ।
जीतपुर सिमरा–१६, टाँगियाबस्तीमा ३५ वर्षअघि जन्मेकी जुनु श्रेष्ठ शनिबार साँझ पहिलोपटक बिजुली बत्ती बाल्न पाउँदा निकै खुसी देखिइन् । ‘पहिला टुकी बाल्थ्यौँ, ४र५ वर्ष भयो सोलार बालेको । अहिले बिजुली बत्ती बाल्न पाउँदा हाम्रो खुसीको सीमा छैन,’ उनले भनिन् ।
३० वर्षदेखि त्यहाँ बस्दै आएकी डम्मरकुमारी राना पनि शनिबार साँझ पहिलोपटक बिजुली बाल्न पाउँदा खुसी छिन् । धेरै वर्ष टुकी बत्ती र पछिल्लो समय सोलर बत्तीको भरमा दैनिकी गुजारेकी राना र श्रेष्ठ जस्तै टाँगिया बस्तीका बासिन्दाले शनिबारदेखि बिजुली बत्तीको उज्यालोमा बस्न पाएका छन् ।
ऊर्जा मन्त्रालयको २ करोड ३४ लाख ४२ हजार लागतमा विद्युत प्राधिकरण सिमराले प्रस्तावित विमानस्थलको टाँगिया बस्तीमा विद्युत्करण गरेको हो । सो क्षेत्रमा प्राधिकरणले ११ के.भी.को ७ किलोमिटर र एलटी लाइन (पोलमा २ लाईनको तार भएको) करिब २० किलोमिटर तार टाँगेको छ । प्राधिकरणले सो क्षेत्रमा पोल गाड्ने, ट्रान्सफरमर जडान गर्ने लगायत विद्युत्करणको काम २०७८ चैतदेखि सुरु गरेर भदौ अन्तिम साता सम्पन्न गरेको हो ।
प्राधिकरणले टाँगिया बस्तीका एक हजार ४७६ घरधुरीमध्ये शनिबारसम्म ४५० घरधुरीमा मिटर जडान गरिसकेको छ भने बाँकी घरधुरीमा केही दिनभित्र जडान हुने जनाएको छ ।