नेपालमार्ग, काठमाडौँ । मङ्सिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत मधेश प्रदेशमा जनता समाजवादी पार्टी नेपालको यादव मोह देखिएको छ । मधेस प्रदेशमा जसपा नेपालले ३६ जना उम्मेदवारलाई उठाएको छ । उक्त दलबाट उम्मेदवार हुनेहरू आ–आफ्नो निर्वाचन क्षेत्रमा जान थालेका छन् । तर पार्टीले उम्मेदवार बनाएका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा अधिकांश यादवहरू मात्र रहेका छन् । जसपा नेपालले ३६ जनामध्ये २८ जना यादव थरकालाई उम्मेदवार बनाएको छ । पहिचानको मुद्दालाई प्रमुखताका साथ उठाउँदै आएको दलले नै चुनावमा उम्मेदवार उठाउँदा सबैलाई समेट्न नसकेपछि चुनावी नतिजालाई लिएर चासो बढेको छ ।
जनता समाजवादी पार्टी नेपालबाट मधेश प्रदेश, प्रदेश सभा सदस्य उम्मेदवारहरूको नामावली यस्तो छ, जसमा अधिकांश यादवैयादव रहेका छन् ।
सप्तरी १(२) बाट सुगम्बर यादव, २(२) बाट लक्ष्मण यादव, ३(२) विदेश्वर यादव र ४(२) बाट अभिषेक यादव रहेका छन् । सिरहा २(१) बाट विजय यादव, ३(२) बाट रेणु यादव र ४(२) बाट सुरेशकुमार यादव रहेका छन् । यस्तै धनुषा १(१) सुकेश्वर यादव, २(१) शैलेन्द्र यादव, २(२) बाट रामअशिष यादव, ३(१) जितेन्द्र यादव, ४(१) बाट ज्ञानेन्द्र यादव र ४(२) बाट चन्देश्वर यादव छन् । त्यसैगरी महोत्तरी १(२) बाट राम श्रेष्ठ यादव, २(१) बाट घर्मेन्द्र यादव र ४(२) बाट सरोजकुमार यादव रहेका छन् । सर्लाहीमा २(२) मा अशोक यादव, ३(२) मा सञ्जय यादव र ४(२) मा उदयकान्त यादव छन् । रौतहट १(२) मा योगेन्द्र यादव, २(२) मा रामकिशोर यादव र ३(१) मा पूजा यादव उममेदवार छन् । बारा १(२) बाट सरोजकुमार यादव, २(२) मा बच्चा राउत अहिर यादव, ३(१) भरत यादव र ३(२) मा पारसप्रसाद यादव रहेका छन् । त्यसैगरी पर्सा २(१) मा रामनरेश यादव र ३(२) मा डा. मघु यादवलगायत २८ जना एकै जातकालाई उम्मेदवार बनाइएको छ ।