कात्तिक २, २०७९ बुधबार

नानी झरीन् सुन्दर गाउँ बाट 
बानी छ राम्रो अनुहार बेश
उनी हिमाली परिवेश हेर्छिन् 
उनी तराई र पहाड घेर्छिन्  ।।

लोभ्याउँछन् यी हिमश्रृङ्खला ले 
बोलाउँछिन् दिव्य कलावती ले 
शेर्पाहरू को मृदु–नृत्य हेरी 
रमाउँछिन् यी मन की चमेली ।।

चौँरीहरू दूध दिँदै रमाए 
शेर्पाहरू ले परिकार ल्याए 
छुर्पी चपाईकन मस्त हाँसी
नानी रमाईन् मृदुता विचारी ।।

हेरी चमेली अनि ती हिमाली
झुमी रहेछन्, भ्रमरा जसै नि 
नानी चमेली पनि लठ्ठ पार्छिन् 
हिमाल भन्दा कम छैन भन्छिन् ।।

नानी परी हुन् हिमश्रृङ्खला मा 
दाँज्ने  कसै  मा  क्षमता नहोला 
जे जे  भएता  पनि  सृष्टि  भित्र 
स्त्री शक्ति सामू कुन चैँ नडग्ला ।।

नानी पहाडी परिवेश हेर्न
झरीन् रमाईकन काम गर्न
छ रापिलो घाम घमाइलो छ 
जताततै भव्य रमाइलो छ ।।

पहाड वक्षस्थल जस्तो देख्छु
उनै मुमा को छ कृपा म देख्छु
छन् झुम्मिएका कति पुत्र पुत्री
इन्ले बचाईन् सब सृष्टि पृथ्वी ।।

खाए  चुसेरै  सब  ले  रमाई 
मेरै त हुन् लाग्दछ यी मलाई
हुँदा म मा शक्ति जसै बचाऊँ
भएन क्यै शक्ति भने बचाऊ ।।

हिमाल चीसो स्थल हो त्यसैले 
छ  सृष्टि राम्रो तरिका मजा ले
तेस्तै तराई र पहाड(कूल
छ सृष्टि वातावरणानुकूल ।।

भञ्ज्याङ डाँडा वन कन्दरा मा
बाँची रहेका पशु जीव सारा
पहाड का हुन् धन मान नौलो
नेपाल का हुन् गहना सुनौलो।।

नेपाल मा छन् जति जाति वाद
कोही  कसै  मा  पनि छैन भेद 
हुनेछ  जे  जे गुण  कर्म  ले हो 
ती  वेद गीता यसको कडी हो ।।

तसर्थ  शास्त्रादि  सबै बिचारून् 
कुबुद्धि लाई पनि फालि जाऊन् 
सुकर्म   गर्दै   र   सुमार्ग   लाग्दै 
नेपाल  शोभा  सब मा  पुर्याऊन् ।।

मधेश  झर्दा  धन को छ हार 
झपक्क झुल्दैछ टलक्क टार
यो सृष्टि को नित्य विचार गर्दा 
लाग्दैछ साह्रै किन हो बहार ।।

ऋकेश भण्डारी ऋगीश, नुवाकोट
छन्द (उपजाति)