काठमाडौँ । कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको छ ।
युट्युब च्यानल ‘कमेडी सर्कल’मा उनले दिएको प्रस्तुतिका कारण नेवाः समुदायको भावनामा आँच पुगेको भन्दै अपूर्वविरुद्ध प्रहरीमा जाहेरी परेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बुधबार उनको बयान नसकिएकाले फेरि अदालत उपस्थित गराइएको हो ।
पक्राउ परेको १० दिनपछि कोभिड–१९ भाइरसबाट संक्रमित भएका क्षितिजलाई हाजिर जमानीमा प्रहरीले छाडेको थियो । तर सोमबार फाइल बुझाउन लागिएको भन्दै उनलाई बोलाएर प्रहरीले फेरि नियन्त्रणमा लिएको थियो ।
अपूर्वका बुबा जयशंकर सिंहका अनुसार अदालतमा पेश गर्ने भन्दै प्रहरीले बोलाएपछि अपूर्व टेकुस्थित काठमाडौं प्रहरी परिसरमा हाजिर भएका थिए । ‘तर प्रहरीले अदृष्य शक्तिको आडमा छोरालाई थुनाउन बोलाएको रहेछ, सरकारी विदा भन्दै थुन्यो’, सिंहले भने, ‘बुधबार बयान सकिएन भन्दै राखियो । आज पनि अलमल गर्छन् कि भन्ने डर छ ।’
नेवारी संस्कृतिमाथि अपूर्वले गरेको स्ट्यान्डअप कमेडीविरुद्ध उजुरीका कारण अपूर्व दसैंअघि नै १२ दिन थुनामा परिसकेका थिए । चार वर्षदेखि धेरै पटक धेरै ठाउँमा नेवार साथीहरूकै माझमा देखाएको स्ट्यान्डअप कमेडीको भिडियो युट्युबमा राख्दा संस्कृति अभियन्ताले आपत्ति व्यक्त गरेपछि उनले तत्काल माफी माग्दै भिडियो हटाए ।
माफी मागेको भिडियो युट्युबमा अपलोड गरेपछि अभियन्ता र प्रहरीले क्षमा देलान् भनेर उनी प्रहरी वृत्त टेकु पुगेका थिए तर थुनामा परे । ‘त्यसपछि म भोलिपल्टै काठमाडौं आएँ, अभियन्ताहरूको खुट्टैमा ढोगें । तर पनि छोराविरुद्ध जाहेरी फिर्ता भएन, हजार पटक माफी माग्दा पनि प्रहरीले सुनेन,’ जयशंकर भन्छन् । बरु, अभद्र व्यवहार गरेकोदेखि साम्प्रदायिक सद्भावमा खलल परेका लगायत आरोपमा दर्जनभन्दा बढी उजुरी पर्दै गए ।
अपूर्व क्षितिज पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् । भारतमा चार्टर्ड एकाउन्टेन्ट पढेका उनी स्ट्याण्ड अप कमेडीसँगै पेशालाई अघि बढाउने सोचसहित नेपाल फर्किएका थिए । बुबा जयशंकर भन्छन्, ‘अहिले बरु छोराले भारतमा पाएको राम्रो अवसर छाडेर किन नेपाल आयो जस्तो लाग्छ ।’
छोरा पक्राउ परेपछि काठमाडौं आएका बुबा जयशंकर अहिले आफैं बिरामी परेका छन् । उनले भने, ‘म बिरामी भएर कोठामै आराम गरिरहेको छु, छोराको साथी अदालतमा छ ।’