कात्तिक ६, २०७९ आइतबार

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै लुम्बिनी प्रदेश सरकारका बहालवाला मन्त्रीले भारतीय गाडीको लस्करसहित चुनावी प्रचार गरेका छन्।

कपिलवस्तु क्षेत्र नम्बर १ (२) बाट प्रदेश सभा सदस्यका उम्मेदवार तथा लुम्बिनी प्रदेशका भौतिक योजनामन्त्री सहसराम यादवले निर्वाचन प्रचारका निम्ति भारतीय गाडी प्रयोग गरेका हुन् ।

जसपाबाट उम्मेदवारी मनोनयनका लागि निर्वाचन कार्यालय हिँडेका यादवले निर्वाचन कार्यालय पुगेपछि नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता गरेका थिए।

यादव अहिले युपी ५५ एके ५५१३ नम्बरसहितका भारतीय गाडीहरू प्रयोग गर्दै चुनावी प्रचारमा लागेका हुन्। सरकारका मन्त्रीले नै निर्वाचन आचारसंहिताविपरीत भारतीय गाडी प्रयोग गर्दै आए पनि निर्वाचन आयोगले भने कसैको उजुरी नपरेको बताएको छ।

निर्वाचन आयोगका अनुसार भारतीय सवारी साधन प्रयोग गर्नु आचारसंहिताविपरीत हो ।