काठमाडौं । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विश्वका विभिन्न ११० विधामा विश्व रेकर्ड कायम गरेका गीतकार तथा साहित्यकार डा. डीआर उपाध्यायले आफ्ना फरक शैलीका १३ गीति कविता र एक पृथक् शैलीमा सिर्जना सार्वजनिक गरेका छन् । राजधानीमा पत्रकार सम्मेलन गर्दै डा. उपाध्यायले गीति कविता र फरक शैलीको सिर्जनालाई पनि विभिन्न विश्व रेकर्डमा समावेश गर्ने उद्देश्य रहेको बताए ।
यसपटक उनले आफ्ना १५० ओटा गीत विश्वको नक्सा (ग्लोबल)मा सार्वजनिक गरेका ह्ुन् । उनले सार्वजनिक गरेका गीति कवितामा संसारभरका ११५ वटा सांगीतिक पत्रिकाको नाम समेटिएको, अन्तरिक्षमा पाइला टेकेका विश्वका अन्तरिक्षयात्रीको नामबाट, विश्वका सामाजिक बिदाको नाम समेटिएको, विश्वका सर्वाधिक बिक्री भएका म्युजिक एल्बमको, ग्रामी पुरस्कार विजेता कलाकारको नामबाट, विश्वका प्रचलित घण्टीहरूको नामले, विश्वका सुप्रसिद्ध कवि तथा गीतकारको नाम र तिनीहरूले सिर्जना गरेको विषय समेटिएको, युट्युबमा एक विलियनभन्दा माथि भ्युज भएका टाइटल समेटिएको, ग्रामी पुरस्कार विजेता जोडीको नाम समेटिएको, इन्स्ट्राग्राममा मोष्ट फलोअर्स भएका आर्टिष्ट र उनले गाएको वर्णन समेटेर, विश्वभर हजारौँ मिलियन यात्रुलाई यात्रा गराउन सफल ६८ एयरक्राफ्टको नाम समेटिएको, क्यान्सर लागेर बाँचेका प्रसिद्ध व्यक्तित्वको नामबाट र अंग्रेजी अक्षर ‘ए’ देखि ‘जेड’ सम्मको वर्णानुक्रम अनुसारको गीति कविता रहेका छन् । यस्ता शीर्षकका र विषयवस्तु समेटिएका गीति कविता यसअघि सार्वजनिक नभएको र यो पहिलोपल्ट भएको उनले दाबी गरे । सो क्रममा उनले आफ्ना कविता वाचन गरेर सुनाएका थिए ।
कीर्तिमानी डा. उपाध्यायका ३० एल्बमका सयौँ गीत श्रोता र दर्शकमाझ छन् । यस्तै, उनका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’ र ‘मेरी प्रिया’, ‘भाइरस लभ’, ‘कसुर’ जस्ता १४ उपन्यास पाठकमाझ आएका छन् । उनले नयाँ उपन्यास पनि छिट्टै सार्वजनिक गर्ने जानकारी दिए ।