कात्तिक ८, २०७९ मंगलबार

पछिल्लो समय आल्मुनियम कागज प्लेटको प्रयोग बढेपछि दुना टपरीको चलन लोप हुँदै गएको छ । अहिलेका कतिपय युवा पुस्तालाई सालको पातबाट बनाइने दुना टपरीको ज्ञान पनि छैन ।

तनहुँको व्यास नगरपालिका–१० स्थित शतिश आवासीय विद्यालयमा कक्षा १० मा अध्ययनरत सदीक्षा सोतीलाई टपरीबारे जानकारी भए पनि टपरी कसरी बनाइन्छ भन्ने बारेमा ज्ञान छैन ।

टपरीमा खाजा खाएको देखेकी उनलाई टपरी गाँस्ने तरिका सिक्न मन लाग्यो । उनको इच्छा विद्यालयले पूरा गरिदियो । ‘सालको पातलाई कसरी गाँसेर टपरी बुन्ने भन्नेबारे सिक्ने मौका पाएँ, सिकाइलाई निरन्तर अगाडि बढाएँ भने राम्रो टपरी बनाउन सक्छु,’ उनले भनिन् ।

विद्यालयले पढाइका साथै प्रयोगात्मक शिक्षा दिएकामा सोतीले खुसी व्यक्त गरिन् । ‘पढाइका अलवा अतिरिक्त ज्ञानका कुरा सिक्न पाउँदा खुसी लागेको छ, सुरुआत भएकाले केही समस्या भए पनि निरन्तर गरेपछि राम्रो टपरी बुन्छु’, उनले भनिन् ।

कक्षा १० मा अध्ययनरत सलिना भण्डारीलाई चाडपर्व, पूजाआजाका बेला टपरी देखे पनि कसरी बनाइन्छ भन्ने कौतुहलता थियो । ‘सालको पातलाई बाँसको सिन्काले गाँसेर टपरी बनाइन्छ भन्ने जान्ने मौका पाएँ, अब घरमा पनि टपरी गाँस्न सिक्छु,’ उनले भनिन् ।

विद्यालयमा अध्ययनरत विद्यार्थीले टपरी गाँस्न सिक्नाका साथै सेलरोटी बनाउने तरिका पनि सिक्ने अवसर पाएका छन् । पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने उद्देश्यसहित छात्राहरूलाई टपरी र सेलरोटी बनाउने सीप प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक दीर्घ दरैले जानकारी दिए ।