ताप्लेजुङ - तिहारको मध्य समय तिहार आएसँगै फुङ्लिङ नगरपालिका–४ का उशन फुरुम्बूको व्यस्तता बढेको छ । तिहारका लागि अल्लोको टोपीको माग बढेको छ । माग धान्न अहिले अल्लोको धागो खेलाउन दैनिकी बनेको छ ।
फुरुम्बु बिहानैदेखि रातिसम्म कपडा सिलाउने मेसिनमा अल्लोको टोपी सिलाउनुमा व्यस्त हुनुहुन्छ । मेसिन चलाउनु, धागो र कैँची खेलाउन उहाँको पुर्ख्यौली पेसा भने होइन । तीन चार महिना अगाडि मात्र यी काम उहाँले सिक्नुभएको हो ।
उहाँकी श्रीमती आशा लिम्बूले ताप्लेजुङमा पहिलोपटक उत्तम अल्लो कपडा उद्योग सञ्चालनमा ल्याउनुभयो । लिम्बू आफैँले अल्लोको धागो बनाएर कपडा बुन्नुहुन्थो । विस्तारै अल्लोको कपडा उत्पादन हुनथाल्यो । फुरुम्बुले उत्पादन भएको अल्लोको कपडा ढाकाको टोपी बुन्न सिक्न थाल्नुभयो । सिकेको चार पाँच महिनामा राम्रो टोपी सिलाउन थाल्नुभयो ।
अहिले उहाँ माग आएको अल्लोको टोपी सिलाउनमा व्यस्त हुनुहुन्छ । उहाँले भन्नुभयो, “अगाडि सिलाएको टोपी बिक्री भइसक्यो । अहिले मागअनुसारको टोपी सिलाउँदै छु ।” अल्लोको कपडाको टोपी रु छ सयदेखि एक हजारसम्ममा बिक्री गर्दै आउनुभएको उहाँले बताउनुभयो । तिहारको विशेष भाइटीकाका लागि अल्लोको टोपीको धेरै माग आएको छ ।
बजारमा देउसीभैली कार्यक्रम चलिहरेको छ तर फुरुम्बु भने अल्लोको टोपी सिलाउनमै व्यस्त हुनुहुन्छ । उहाँलाई देउसीभैलो कार्यक्रम हेर्न बाहिर निस्कनसम्म फुर्सद छैन ।
यता ढाकाको टोपीको व्यापार भने घटेको छ । फुङ्लिङ नगरपालिका–४ का ताप्लेजुङ ढाका पसल सञ्चालक कुमार येङ्देनले अघिल्लो वर्षको तिहारमा एक हजार ४० थान ढाकाको टोपी बिक्री गर्नुभयो ।
टोपी बिक्रीबाट राम्रो मनग्य आम्दामी लिनुभयो । यस वर्षको तिहार मध्य समय भएको छ तर येङ्देनले अहिलेसम्ममा एक सय थान मात्र टोपी बिक्री गर्नुभएको छ । दसैँ तिहारमा विगतमा जस्तो ढाकाको टोपीको व्यापार नभएको फुङ्लिङ–७ अवस्थित सोनी ढाका कपडा उद्योगका कार्यरत एक उद्यमीले बताउनुभयो ।
लामो समयदेखि ढाकाको टोपी प्रयोग गर्दै आएका उपभोक्तामा अल्लोको कपडा रोजाइमा पर्न थालेको फुङ्लिङ–५ का विक्रम लिम्बूले बताउनुभयो । उहाँले भन्नुभयो, “उपभोक्ता जहिले पनि नयाँ वस्तुको खोजीमा हुन्छन् ।
ढाकाको टोपी विगतदेखिनै प्रयोगमा छ । अल्लोबाट बनेको टोपी भर्खरदेखि प्रयोगमा आउँदै छ ।” ताप्लेजुङमा अल्लोको टोपी प्रयोगमा आउन थालेको धेरै समय भएको छैन । त्यसैले पनि उपभोक्ताको रोजाइमा पर्न थालेको पाइन्छ ।-