काठमाण्डाै – आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा नेकपा माओवादी केन्द्रविरुद्ध नेपाली कांग्रेसका १३ जनाले बागी उम्मेदवारी दिएका छन् ।
सत्ता गठबन्धन दलले चुनावी तालमेल गरेर जाने सहमति गरे पनि माओवादीका आधिकारिक उम्मेदवारविरुद्ध कांग्रेसका १३ जनाले बागी उम्मेदवारी दिएका हुन् ।
माओवादीको भागमा ४७ निर्वाचन क्षेत्र परेको थियो । ती मध्ये १३ ठाउँमा तल्लो तहबाट सिफारिस भएका तर, नेतृत्वबाट टिकट नपाएर असन्तुष्ट बनेका नेता तथा कार्यकर्ताले बागी उठेका हुन् ।
गोरखा–२ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध कांग्रेसका गणेश देवकोटाले वागी उम्मेदवारी दिएका छन् । त्यस्तै चितवन–३ मा भोजप्रसाद अधिकारीविरुद्ध दिनेश कोइराला उठेका छन् ।
कांग्रेसको बलियो जनाधार रहेको उक्त क्षेत्रमा प्रचण्डले छाड्दा पनि माओवादी केन्द्रकै उम्मेदवार उठाइएपछि कोइराला बागी उठेका हुन् । त्यस क्षेत्रमा नेकपा एमालेले आफ्नो पार्टीको उम्मेदवारलाई फिर्ता गरेर बागी गठबन्धनविरुद्ध बागी उठेका कोइरालालाई समर्थन गरेको छ ।
रुकुम पश्चिममा जनार्दन शर्माविरुद्ध तारक केसी वागी उठेका छन् । उक्त क्षेत्रमा कांग्रेसले केन्द्रीय सदस्य मानबहादुर नेपालीलाई टिकट दिएको भएपनि पछि फिर्ता लिन लगाएको थियो ।
बैतडीमा नरेन्द्र कुँवरविरुद्ध केशवबहादुर चन्दले उम्मेदवारी दिएका छन् । पूर्वसहायक मन्त्रीसमेत रहेका चन्दको उम्मेदवारीले गठबन्धनका साझा उम्मेदवार कुँवरलाई चुनौती थपेको छ ।
झापा–२ मा माओवादीका हरिकुमार रानामगरले उम्मेदवारी दिएका छन् । तर त्यहाँ कांग्रेसका कुमार भट्टराई बागी उठेका छन् । राप्रपाका जिल्ला नेता समेत रहेका भट्टराई बिर्तामोड उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हुन् । राना भने मनोनयनको केही समयअघि मात्र एमाले छाडेर माओवादीमा प्रवेश गरेका हुन् ।
यता सिन्धुपाल्चोक–१ मा माओवादीका माधव सापकोटाविरुद्ध कांग्रेसका रामकुमार जीसीले बागी उम्मेदवारी दिएका छन् । उनी पार्टीका महासमिति सदस्य रहेका उनका दाइ श्रवणकुमार जीसीको आडमा चुनावी मैदानमा उत्रिएको कांग्रेसभित्र चर्चा छ ।
गत स्थानीय तह निर्वाचनमा सुनकोसी गाउँपालिका अध्यक्ष लडेका श्रवणकुमारले आफूलाई हराउन माओवादीले भूमिका खेलेको आरोप लगाउने गरेका छन् ।
कपिलवस्तु–१ मा माओवादीका चक्रपाणि खनालविरुद्ध कांग्रेसका जिल्ला सदस्य ललित गुरुङ बागी उम्मेदवार बनेका छन् । त्यस्तै बर्दिया–२ मा सुरेश पन्थविरुद्ध रामप्रसाद आचार्यले बागी उम्मेदवारी दिएका छन् । आचार्य कांग्रेसका स्थानीय तहका नेता हुन् ।
मोरङ–४ मा अमनलाल मोदीविरुद्ध नवीन खवास, मोरङ–५ मा शिव मण्डलविरुद्ध मोहम्मद रेजा हुसेन, झापा–२ मा हरि रानामगरविरुद्ध कुमार भट्टराइ र दोलखामा गंगा कार्कीविरुद्ध विश्वनिधि पाख्रिन उठेका छन् । कैलाली ३ मा कृष्णकुमार चौधरीविरुद्ध नवीन बोहराले वागी दिएका छन ।