कात्तिक १२, २०७९ शनिबार

काठमाडौँ । मङ्सिर ४ को चुनावको मिति नजिकिँदै जाँदा उम्मेदवारको अङ्कगणित र लेखाजोखा गरेका चिया पसलदेखि सामाजिक सञ्जाल र मिडियामा सुन्न, देख्न र पढ्न सकिन्छ । यसैबीच काठमाडौँ क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसका प्रकाशमान सिंह चुनावी मैदानमा रहेका छन् । उनी २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए । संघले तत्कालीन विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेका रवीन्द्र मिश्रलाई ८१८ मत अन्तरले पराजित गरेका थिए । सिंहले १० हजार ९३६ मत ल्याएका थिए भने मिश्रले १० हजार ११८ मत प्राप्त गरेका थिए । त्यस्तै माओवादी केन्द्रका अनिलकुमार शर्माले ५ हजार ३३६ मत प्राप्त गरेका थिए । गत निर्वाचनमा एमाले र माओवादी केन्द्र गठबन्धन गरेर चुनावमा गएका थिए ।

यस पटक सिंह सत्ता गठबन्धनका साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन् भने रवीन्द्र मिश्रको राजनीतिक यात्रामा ठूलो यूटर्न आएको छ । मिश्र अब राजतन्त्र र हिन्दु राज्यको कित्तामा लागेका छन् । चुनावअघि विवेकशील साझा पार्टी छोडेर मिश्र राप्रपामा प्रवेश गरेका छन् र यस चुनावमा राप्रपाबाट चुनावी मैदानमा उत्रिएका छन् ।

यस निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर १ लाई गणतन्त्रवादी भर्सेज राजावादीका रूपमा पनि हेरिएको छ । साथै यस क्षेत्रबाट उठेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बम र सुशासन पार्टीका रमेश खरेलको चर्चाका कारण पनि यस निर्वाचन क्षेत्रमा रोचक प्रतिस्पर्धा हुने देखिन्छ । नेकपा एमालेले यस क्षेत्रबाट युवा संघका नेता किरण पौडेललाई उम्मेदवार बनाएको छ ।

स्थानीय चुनावको परिणामको विश्लेषण
सो क्षेत्रमा काठमाडौँ महानगरपालिकाका चारवटा वडा समेटिएका छन् । यस निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरका १०, ११, २९ र ३१ वडा समेटिएका छन् । प्रदेशसभा ‘१’तर्फ काठमाडौँ महानगरका १०, ११ र २९ वडा तथा प्रदेशसभा ‘२'मा काठमाडौँ महानगरको ३१ वडा समेटिएको छ । काठमाडौँ क्षेत्र नम्बर १ मा २२ मतदानस्थल र ५२ मतदान केन्द्र निर्धारण गरिएको छ ।

कूल ५४ हजार १८ मतदाता रहेको उक्त क्षेत्रमा प्रदेशसभा ‘१’मा २६ हजार चार सय ३५ र प्रदेशसभा ‘२’मा १८ हजार पाँच सय ८३ मतदाता छन् । तीमध्ये २३ हजार चार सय ४८ महिला र २१ हजार पाँच सय ७० पुरुष मतदाता रहेका छन् ।

काठमाडौँ-१ अन्तर्गतका काठमाडौँ महानगरका चार वडामा गत स्थानीय तहको निर्वाचनमा ३ वडामा काँग्रेस र एक वडामा एमाले विजयी भएका थिए । वडा अध्यक्षले पाएको मत हेर्दा यस क्षेत्रमा स्थानीय तहको निर्वाचनमा काँग्रेसले ९ हजार ८९५ मत प्राप्त गरेको थियो भने एमालेले ९ हजार ५४१ मत प्राप्त गरेको थियो । त्यस्तै राप्रपाले चार वडामा १३७६ मत मात्र प्राप्त गरेको थियो । त्यस्तै सत्ता गठबन्धन दलको कुल मत स्थानीय तहको चुनावमा ११ हजार १५४ रहेको छ ।

यसरी स्थानीय तहको चुनावमा प्राप्त गरेको मत विश्लेषण गर्दा काँग्रेस उम्मेदवार प्रकाशमान सिंहले सजिलै जित्ने अनुमान गर्न सकिन्छ । तर संसदीय निर्वाचनमा मतदाताको फरक दृष्टिकोण हुने हुनाले स्थानीय तहको मत सोही रुपमा प्रकट नहुन पनि सक्छ । रवीन्द्र मिश्रले यस निर्वाचनमा प्रकाशमानलाई चुनौती दिन सक्दैनन् भन्ने आधार यस क्षेत्रमा राप्रपाको मत हो । राप्रपाको केवल १३७६ मत मात्र रहेको छ । त्यस्तै उनले राजनीतिमा लिएको यूटर्नलाई यस क्षेत्रका मतदाताले कसरी लिन्छन् भन्ने विश्लेषण गर्न गाह्रो छ । गत निर्वाचनमा विवेकशील साझाको खासगरी काठमाडौँमा एक किसिमको आकर्षण थियो । वैकल्पिक राजनीति गर्ने भन्दै अगाडी आएको विवेकशील साझामा धेरै युवा र स्वतन्त्र व्यक्तिहरू लागेका थिए । तर अहिले त्यो समूह मिश्रसँग नरहेकाले उनले प्रकाशमानलाई टक्कर दिन्छन् भन्ने यकिनका साथ भन्न सकिन्न ।

त्यस्तै यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमको पनि राम्रो चर्चा रहेको छ । उनी विवेकशील अभियानकै नेता हुन् । विभिन्न सामाजिक काममा सहभागी हुँदै यस पटक काठमाडौँ-१ मा प्रतिनिधि सभाको उम्मेदवार बनेका बमले मिश्रलाई उछिने भने पनि आश्चर्य नमाने हुन्छ ।

त्यस्तै सुशासन पार्टी खोलेर राजनीतिमा होमिएका पूर्वप्रहरी डिआइजी रमेश खरेलले पनि प्रकाशमान र मिश्रको प्रतिस्पर्धामा बाधा पुर्‍याउन सक्ने अड्कलबाजी गरिएको छ ।

उम्मेदवार
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर १ मा २१ राजनीतिक दलसहित ३२ उम्मेदवारले भाग लिएका छन् । प्रतिनिधिसभा सदस्यको एक पदका लागि काठमाडौँ क्षेत्र नम्बर १ मा दलको तर्फबाट २१ र स्वतन्त्रबाट ११ गरी कूल ३२ जनाको उम्मेदवारी दिएका छन् ।

यस क्षेत्रमा गठबन्धनबाट प्रकाशमान सिंह, राप्रपाबाट रवीन्द्र मिश्र, नेकपा एमालेबाट किरण पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम, नेपाल मजदुर किसान पार्टीबाट हरि शरण श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट प्रकाश नायजु, जनमत पार्टीबाट हरेन्द्र चौधरी, मौलिक जरोकिलो पार्टीबाट प्रकाश श्रेष्ठ, हाम्रो नेपाल पार्टीबाट डम्बर साहु, नेपालका लागि नेपाली पार्टीबाट बालकृष्ण न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट शान्तिदेवी केसी, नेपाल कम्युनिष्ट पार्टी मालेबाट सुरेन्द्रप्रसाद ढकाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मंचबाट मंजु राणा मगर, नेश्नालिष्ट पिपुल्स पार्टीबाट इन्द्रबहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीबाट मानबहादुर राई, नेपाली काँग्रेस विपिबाट रिशम भट्टराई, नेपालवाद पार्टीबाट किरणकुमार शर्मा पौडेल, विवेकशील साझा पार्टीबाट शंकर बन्जाडे, आमुल परिवर्तन मसिहा पार्टी नेपालबाट हरिकुमार घले, नेपाल सुशासन पार्टीबाट रमेश खरेल, जनसमाजवादी पार्टीबाट मनिता श्रेष्ठ रहेका छन् ।

त्यस्तै यस क्षेत्रबाट ११ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा रहेका छन् । जसमा गोमा खतिवडा अधिकारी, सुनिता बसेल, खुमकला लामिछाने, संगीता बोगटी, दुर्गाप्रसाद लिम्बु, कुलबहादुर तामाङ, निजल शाह, मिरा विष्ट, देव शर्मा, संगीता राजबाहकर र सीता केसी रहेका छन् ।