कात्तिक १४, २०७९ सोमबार

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आइतबार काठमाडौंमा साहित्यकार खगेन्द्र संग्रौलाको पुस्तक एक बागी लोकार्पण समारोहमा बोल्दै हरेक व्यक्तिको सोचमा समय र समाजको प्रभावसँगै संगतको प्रभाव हुन आवश्यक रहेको बताएका छन् ।

साहित्यकार संग्रौला आफूसरहका कांग्रेसी नेताहरूको पनि गुरु भएकाले उनको जीवन र साहित्य रचनाबाट हरेक नेपालीहरूले सिक्नुपर्ने कुराहरू धेरै रहेको थापाले बताए । उनले भने, ‘खगेन्द्र संग्रौला कांग्रेस त हुँदै होइन, त्यसमाथि कालो कांग्रेस हुने कुरै भएन । तर, मेरो उमेर समूहका थुप्रै कालो कांग्रेसीले खगेन्द्र संग्रौलालाई गुरू मान्छन् । प्रश्न गर्न र बाघी हुन हामीलाई खगेन्द्र संग्रौलाले सिकाउनुभयो ।’

आफ्नो जीवनमा खगेन्द्र संग्रौलाले नै प्रश्न गर्नुपर्छ र अन्यायविरुद्ध लड्नुपर्छ भन्ने कुरा सिकाएको महामन्त्री थापाले बताए । साहित्यकार संग्रौलाको नयाँ पुस्तक एक बागी​ कोही एक व्यक्तिको जीवनमा आधारित नभई समय र समाजले बुझ्नुपर्ने कुराहरू समेटेको पाएको उनले बताए । साहित्यकार संग्रौलाका पुस्तकमा समेटिएका हरेक शब्दहरूले समाजको यथार्थता र समयको मागलाई सम्बोधन गर्ने पाएको महामन्त्री थापाको भनाइ छ ।