कात्तिक १६, २०७९ बुधबार

विराट्नगर–३ को षडानन्द मार्ग अहिले सेल्फी रोडको नाउँबाट प्रख्यात छ । यसलाई कतिपयले भाइरल रोड पनि भन्ने गरेका छन् । विराटनगर–३ को वडा कार्यालयदेखि उत्तर पाँच सय मिटरको सडक क्षेत्रको एकापट्टि खाँबो गाडेर त्यसमा रङ्गीचङ्गी बत्ती झुण्ड्याइएको छ ।

सेल्फी रोडमा साँझ पर्नासाथ बल्ने झिलीमिली बत्तीमा टिकटक बनाउनेदेखि घुम्न आउनेसम्मको भीड लाग्ने गरेको छ । सेल्फी रोडले अन्तरवडा पर्यटन प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेलेको महसुस गर्न थालिएको छ ।

विराटनगरको १९ वटै वडाबाट सर्वसाधारण सेल्फी रोडमा तस्बिर खिचाउन आउने गरेका छन् । विराटनगर–१० की भवानी खनालले सेल्फी रोड हेरेर आफू मोहित भएको बताइन् । उनले पर्यटक तान्न ठूलै रकम खर्च गर्नु पर्ने आवश्यकता नरहेको भनेर सेल्फी रोडले देखाएको बताइन् ।

इनरूवा निवासी हाल विराटनगर–६ बस्ने उत्तम कोइरालाले नेपाल पर्यटकको स्वर्ग रहेको बताए । स–साना कुराले पनि राम्रै ध्यान आकृष्ट गर्ने क्षमता राख्ने उदाहरण यो सेल्फी रोडले देखाएको उनको भनाइ छ ।

विराटनगरवासी बाहेक सेल्फी रोडले मोफसलका बासिन्दाको पनि ध्यान आफूतिर तान्न विस्तारै सफल हुँदै छ । बुढीगंगा–२ टङ्कीसिनवारीका राम सरदारले दिनभरिको कामको थकानलाई सेल्फी रोडको उज्यालोले मेट्ने गरेको बताए ।

कुनै बेला उजाड जस्तो देखिने सेल्फी रोडमा नयाँ–नयाँ होटल र पसल थाप्ने होड नै चलेको छ । साँझपख चटपटेदेखि बेलुन बेच्ने स–साना कारोबारीको पनि धन्दा चल्न थालेको छ । सेल्फी रोडसम्म यात्रु ल्याउन र लैजान विराटनगरका सिटी सफारी र टेम्पो व्यस्त बन्न थालेका छन् ।

सेल्फी रोडमा सर्वसाधारणको आवतजावत बढ्दा यहाँका किराना पसलदेखि होटलसम्मले मनग्य आम्दानी गर्न थालेका छन् । विराटनगर–३ का वडाध्यक्ष बासु बस्नेतले निवर्तमान वडाध्यक्ष विनोद बस्नेतको कार्यकालमा छुट्याइएको पाँच लाख रूपैयाँ खर्च गरेर सो सडकमा २२ वटा खम्बा गाडिएको र झिलीमिली बिजुली बत्ती जडान गरिएको बताए ।